चन्द्रागिरीमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न

काठमाडौं । चन्द्रागिरी नगरपालिकास्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा ओलम्पियन र अन्य खेलाडीको उपस्थितिमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको छ ।
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, वडाअध्यक्षहरुको उपस्थिति रहेको सो कार्यक्रम चन्द्रागिरी नगरपालिकाको आयोजना तथा नेपाल ओलम्पियन एसोसिएसनको संयोजन तथा महांकाल ब्याडमिन्टन कभर्ड हलको व्यवस्थापनमा भएको कार्यक्रममा नगरपालिकाका विभिन्न विद्यालयका विधार्थीहरुको सहभागिता रहेको थियो ।

ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, ओलम्पियन विधान लामासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता करातेकी एरिका गुरुङ, कास्य पदक विजेता बक्सिङका दीपक महर्जनले कार्यक्रम आ आफ्नो खेल जीवनको यात्राका बारेमा विधार्थीलाई जानकारी दिएका थिए ।

त्यस्तै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ, ब्याडमिन्टनकी महिला च्याम्पियन रसिला महर्जन, तेक्वान्दोकी प्रशिक्षक एवंम रेफ्री सिता तामाङले सो अवसरमा आ आफ्नो अनुभव साटेका थिए ।

ओलम्पियन एसोसिएसनमा अध्यक्ष विष्टले आफूहरुले खेलकुदमा राखेको कीर्तिमानले नयाँ पुस्ताले तोड्न सकेको खण्डमा आफूहरु खुसी हुने बताए । सोही अवसरमा ओलम्पियन विधान लामा र तेक्वान्दो प्रशिक्षक सिता तामाङ आत्मरक्षाका लागि अपाउन सक्ने तरिका विधार्थीहरुलाई अभ्यास गरेका देखाएका थिए ।

Scroll to Top