छोरीभन्दा छोराको जन्मदर उच्च, विज्ञ भन्छन्– नीति फेर्न नगरौं ढिला

सुरेन्द्र काफ्ले

सुरेन्द्र काफ्ले

काठमाडौं : २०७८ को जनगणनाले भन्छ– मुलुकमा पुरुषभन्दा महिलाको संख्या साढे ६ लाख बढी छ। जनगणनाअनुसार महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार २७ छ। पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ छ। अर्थात् महिला ५१.१३ प्रतिशत छन्। पुरुषको संख्या ४८.८७ प्रतिशत छ। मुलुकको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ ।

०६८ को जनगणनाले पनि पुरुषभन्दा महिलाकै संख्या बढी देखाउँछ। त्यतिबेला मुलुकको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। जसमा महिलाको जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ थियो। अर्थात् महिला ५१.५० प्रतिशत थिए।  पुरुषको जनसंख्या ४८.५० प्रतिशत अर्थात् १ करोड २८ लाख ४९ हजार ४१ थियो।  

मुलुकमा पुरुषभन्दा महिलाको संख्या साढे ६ लाख बढी छ। जनगणनाअनुसार महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार २७ छ। पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ छ। 

तर, पछिल्लो अवस्था भने फरक देखिएको छ। छोरीभन्दा छोराको जन्मदर उच्च देखिएको छ। राष्ट्रिय जनगणनापछिको १२ महिनामा ४ लाख १२ हजार ९ सय ३५ बालबालिका जन्मिएका थिए। जसमा २ लाख १८ हजार ७४ छोरा जन्मेका थिए। छोरी भने १ लाख ९४ हजार ८ सय ६१ जन्मेका थिए। अर्थात, सय छोरी जन्मिदा १ सय १२ छोरा जन्मिएको विभागले देखाएको छ। तथ्यांक विभागको लैंगिक अनुपात १ सय १२ छ।

गत १२ महिनामा १५ देखि ४९ वर्षका विवाहित महिलाले जन्माएका जीवित बच्चाको लैंगिक अनुपात ११२ देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने बताउँछन्। प्राकृतिक रूपमा जन्मदाको लैंगिक अनुपातभन्दा हालको अनुपात धेरै छ। वैज्ञानिक तथ्यअनुसार कुनै पनि समाजमा प्राकृतिक तवरले बच्चा जन्मदाप्रति १०० छोरीमा १ सय ५ देखि १ सय ७ जनासम्म छोराको जन्म हुन्छ। तर, जन्मिसकेपछि सम्मान, हेरचाह र लालनपालन पाएमा प्रकृतिसँग जुध्न सक्ने र रोगप्रतिरोधी क्षमता छोरामा भन्दा छोरीमा बढी हुन्छ। उमेर बढद्ै जाँदा ‘मृत्युवरण’ गर्ने सम्भावना छोरामा बढी हुँदै जान्छ र छोराको संख्या घट्दै जान्छ। वयस्क उमेरमा पुगेपछि लंैगिक अनुपात समान हुन आउँछ। तर, पछिल्लो जन्मदाको  लैंगिक अनुपातको अन्तर प्राकृतिक अन्तरभन्दा निकै बढी हुन थालेकाले चिन्ताको विषय बनेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख एवं तथ्यांक अधिकारी डा. हेमराज रेग्मी बताउँछन्।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ०४८ सालभन्दा पहिलेदेखि नै छोरा र छोरीमा जन्मदाको लंैगिक अनुपात बढ्न थालेको देखिन्छ। त्यो बेला यो अनुपात अपेक्षाकृत कम थियो। ०६८ र ०७८ को बीचमा यो १०६ बाट ११२ पुगेर उल्लेखनीय वृद्धि भएको छ। अर्थात्, १ सय छोरी जन्मिदा १ सय १२ छोरा जन्मिन थालिसकेका थिए। ‘यस परिणामले छोरीको जन्ममा ठूलो कमी आएको देखाउँछ, जुन परिवारको पूर्वाग्रहको कारण हुनसक्छ,’ राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ, ‘छोराको प्राथमिकता पितृसत्तात्मक समाजमा सामान्य छ र यसले ठूलो परिवारबाट एक परिवारतिर सर्ने परिणामका रूपमा प्रकट भएको छ। यसले परिवारको आकार पनि समयसँगै सानो हुँदै जानसक्छ भन्ने देखिन्छ।’

एसियामा नै नेपालमा लैंगिक अनुपात उच्च

जन्मको समयमा हुने लिंगको अनुपातको वर्तमानस्तर एसियाली धेरै देशहरूभन्दा नेपालमा उच्च छ। भारतमा भन्दा पनि नेपालको उच्च छ। भारतको लैंगिक अनुपात १ सय ८ छ।  चीन र नेपालको लैंगिक अनुपात भने बराबर छ। नेपालको जस्तै चीनको लैंगिक अनुपात १ सय १२ छ। जन्मदाको लैंगिक अनुपात जापान(१ सय ५) र बंगलादेश(१ सय ५) छ।

प्रजनन दर घट्दै गयो । अभिभावकले अब धेरै सन्तान जन्माउन चाहँदैनन् । एक वा दुई जना जन्माउने हो। त्यसमा पहिलो छोरा जन्मियो भने, त्यसपछि रोकिहाल्छन्। छोरी जन्मिए मात्रै छोरा जन्माउनका लागि अर्को सन्तानतिर लाग्छन्। कानुनी र नैतिक हिसाबले गर्भमा रहेको सन्तान हेर्ने काम अवैध भए पनि पूर्वजानकारी लिएर गर्भपतन गराउने प्रवृत्ति पनि धेरै बढ्दै गयो । प्रा.डा.योगेन्द्रबहादुर गुरुङ, जनसंख्याविद् एवं त्रिभुवन विश्वविद्यालय जनसंख्या विभाग

विगत ७० वर्षको लैंगिक अनुपातको अवस्था

०६८ मा जन्मदाको लैंगिक अनुपात १०६ थियो। यो पनि जनगणना २००९÷११ भन्दा धेरै बढि हो। त्यो बेला लैंगिक अनुपात १०३ थियो। २०१८ मा १०२, २०२८ मा ९९, २०३८ मा १०६,२०४८ मा १०३,२०५८ मा १०४, २०६८ मा २०६ र २०७८ मा ११२ छ।

गाउँ–सहर सबैतिर छोराकै संख्या बढी

ग्रामीण क्षेत्रमा छोरी संख्या घट्दै गएको देखिन्छ। सहरी क्षेत्रमा पनि छोरीभन्दा छोराको जन्मदर बढिरहेको छ। नगरपालिका क्षेत्रमा २ लाख ५९ हजार २ सय ६२ बालबालिका जन्मिएका थिए। जसमा बालक १ लाख ३७ हजार ९८१ छन् भने बालिका १ लाख २१ हजार २८१ छन्। जसको लैंगिक अनुपात ११४ छ।  

गाउँपालिकामा १ लाख ५३ हजार ६ सय ७३ बालबालिका जन्मिएकामा ८० हजार ९३ बालक र ७३ हजार ५८० बालिका छन्। लैंगिक अनुपात १०९ छ। जनसंख्याविद् एवं त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका सहप्रध्यापक डा. पदमप्रसाद खतिवडा सहरी क्षेत्रमा रोजगारी र शिक्षाको लागि पुरुष आउने भएकाले त्यहाँ छोराको संख्या बढेको बताउँछन्। 

सबैतिर उस्तै, तराईमा झन् धेरै

हिमाल, पहाड र तराई तीनै क्षेत्रमा बालक नै धेरै जन्मिएको तथ्यांक विभागले देखाएको छ। त्यसमा सबैभन्दा बढी तराई क्षेत्रमा बालकको जन्मदर उच्च देखाइएको छ। तराई क्षेत्रमा छोराको संख्या बढिरहेको छ।  हिमालमा १४ हजार ५ सय ८२ बालक र १३ हजार २ सय ९६ बालिका गरी २७ हजार ८ सय ७८ बालबालिका जन्मिएका छन्। हिमाली क्षेत्रमा लैंगिक अनुपात १ सय १० छ। 

पहाडी क्षेत्रमा १ लाख ५६ हजार ३ सय ४२ बालबालिका जन्मिएका छन् जसमा छोरा ८१ हजार ६ सय ७८ छन् भने छोरी ७४ हजार ६ सय ६४ छन्। 

पहाडमा तुलनात्मक रूपमा लंैगिक अनुपात कम छ। पहाडी क्षेत्रको लैंगिक अनुपात १ सय ९ छ। 

तराईमा २ लाख २८ हजार ७ सय १५ बालबालिका जन्मिएका छन्। जसमा छोराको संख्या १ लाख २१ हजार ८ सय १४ छ भने छोरीको जनसंख्या १ लाख ६ हजार ९ सय १ छ। तराईमा लैंगिक अनुपात उच्च छ। तराईमा छोराछोराबीचको जन्मदरमा विभेद धेरै देखिन्छ। तराई क्षेत्रको लैंगिक अनुपात ११४ छ। डा. खतिवडा तराई–मधेसमा दाइजोका कारणले पनि छोरीभन्दा छोरा जन्माउनतिर धेरैको ध्यान जाने गरेको बताउँछन्। ‘तराई मधेसमा दाइजो प्रथा भयावह छ,’ खतिवडा भन्छन्, ‘छोरी जन्मिएपछि पढाउनु पर्‍यो। जति धेरै पढायो, त्यति बढी दाइजो दिनुपर्छ। अनि पनि त्यहाँ बालविवाहसमेत धेरै छ। दाइजोका कारण सकेसम्म बुवाआमाले छोरी जन्माउन नै चाहँदैनन्।’ 

प्रदेशमा मधेस अघि

सातवटै प्रदेशको अवस्थामा पनि त्यस्तै छ। छोराहरू नै धेरै जन्मिएका छन्। यसमा पनि सबैभन्दा बढी मधेसमा देखिएको छ। मधेसको लैंगिक अनुपात राष्ट्रिय अनुपातभन्दा बढी छ।

वैज्ञानिक तथ्यअनुसार कुनै पनि समाजमा प्राकृतिक तवरले बच्चा जन्मदाप्रति १०० छोरीमा १ सय ५ देखि १ सय ७ जनासम्म छोराको जन्म हुन्छ। तर, जन्मिसकेपछि समान हेरचाह र लालनपालन पाएमा प्रकृतिसँग जुध्न सक्ने र रोगप्रतिरोधी क्षमता छोरामा भन्दा छोरीमा बढी हुन्छ। वयस्क उमेरमा पुगेपछि लंैगिक अनुपात समान हुन आउँछ। तर, पछिल्लो जन्मदाको  लैंगिक अनुपातको अन्तर प्राकृतिक अन्तरभन्दा निकै बढी हुन थालेकाले चिन्ताको विषय बनेको छ।डा. हेमराज रेग्मी, उपप्रमुख, एवं तथ्यांक अधिकारी  

त्यस्तै सुदूरपश्चिमको तराई क्षेत्र तथा गण्डकी र लुम्बिनीको पहाडी क्षेत्र बढी देखिएको छ। कोशी प्रदेशमा ३३ हजार ५७ छोरा र ३१ हजार १ सय ३३ छोरी गरी ६४ हजार १ सय ९० बालबालिका जन्मिएका छन्। कोशीमा लैगिक अनुपात १ सय ६ छ।

मधेस प्रदेशमा ९६ हजार ५५७ बालबालिका जन्मिदा ५२ हजार ३ सय ३४ र ४४ हजार २ सय २३ छोरी छन्। मधेस प्रदेशको लैंगिक अनुपात सबैभन्दा धेरै छ। मधेसको लैंगिक अनुपात १ सय १८ छ। 

बागमती प्रदेशमा ३३ हजार बालक र ३३ हजार ३ सय ८० बालिका गरी ७० हजार ३ सय ८० जना बालबालिका जन्मिएका छन्। त्यस्तै गण्डकी प्रदेशमा २७ हजार ९ सय ४० बालबालिका जन्मिएका छन् जसमा छोरा १४ हजार ६ सय ८६ जना र छोरी १३ हजार २ सय ५४ जना छन्। बागमती र गण्डकीको लैंगिक अनुपात १ सय ११ छ। 

लुम्बिनीमा ७६ हजार २ सय ४३ बालबालिका जन्म हुँदा ३९ हजार ८ सय ६४ बालक र ३६ हजार ३ सय ७९ बालिका छन्। लुम्बिनीको लैंगिक अनुपात १ सय १० छ।

कर्णालीमा ३१ हजार ३ सय २३ बालबालिका जन्मिएका छन्। जसमा १६ हजार ३ सय ११ बालक र १५ हजार १२ बालिका छन्। कर्णालीको लंैगिक अनुपात १ सय ९ छ।  त्यस्तै सुदूरपश्चिम प्रदेशमा ४६ हजार ३ सय २ बालबालिका जन्मिदा २४ हजार ८ सय २२ पुरुष र २१ हजार ४ सय ८० महिला छन्। सुपको १ सय १६ छ।

धनुषामा १०० छोरी जन्मिदा १३३ छोरा 

जिल्लागत तथ्यांक हेर्दा पनि त्यस्तै छ। धनुषाको लैंगिक अनुपात सबैभन्दा धेरै देखिएको छ। धनुषामा ८ हजार १ सय ९७ बालक र ६ हजार १ सय ५७ बालिका जन्मिएका छन्। धनुषाको लैंगिक अनुपात १ सय ३३ छ। यसको अर्थ हो– १०० छोरी जन्मिदा १ सय ३३ छोरा जन्मिएका हुन्। सिरहाको लंैगिक अनुपात १ सय २८ छ। सिरहामा ६ हजार ५ सय ३४ बालक र ५ हजार १ सय २४ बालिका जन्मिएका छन्। अर्घाखाँचीमा लैंगिक अनुपात १२४ छ। अर्घाखाँचीमा २ हजार ६ सय ७८ बालबालिका जन्मिदा १ हजार ४ सय ८१ बालक र १ हजार १ सय ९७ बालिका जन्मिएका छन्।  त्यस्तै झापामा ६ हजार ५ सय ३८ बालक र ५ हजार ९ सय १५ बालिका जन्मिए। मोरङमा १४ हजार ३ सय ७८ मध्ये बालक ७ हजार ३ सय ४३ र बालिका ७ हजार ३५ जन्मिए।

सुनसरीमा ६ हजार ४ सय २२ बालक र ६ हजार ३२ बालिका गरी १२ हजार ४ सय ५४ बालबालिकाले जन्म लिए। सप्तरीमा बालक ५ हजार ६ सय ५१ र बालिका ४ हजार ५ सय ८१ जन्मिए। काठमाडौंमा १० हजार ८ सय ८० बालक र ९ हजार ४ सय ५ बालिका गरी २० हजार २८५ बालबालिका जन्मिए।

भक्तपुरमा २ हजार ५ सय ६४ बालक र २ हजार २ सय ८१ बालिका तथा ललितपुरमा ५३  सय बालबालिका जन्मिदा बालक २ हजार ७ सय ८२ र बालिका २ हजार ५ सय १८ जन्मिएका छन्। चितवनमा ४ हजार ४ सय ९ छोरा र ३ हजार ९ सय २० छोरी, कास्कीमा ६ हजार ३ बालबालिका जन्मिदा पुरुष ३ हजार १ सय ५१ र महिला २ हजार ८ सय ५२ जना छन्। 

रुपन्देहीमा १५ हजार ६ सय ७८ बालबालिका जन्मिदा ८ हजार २ सय २५ बालक र ७ हजार ४ सय ५३ बालिका जन्मे। दाङमा ४ हजार ७ सय ५५ बालक र ४ हजार ३ सय ३५ बालिका जन्मिए। बाँकेमा ४ हजार ९ सय ९६ बालक र ४ हजार ४ सय ६९ बालिका, सुर्खेतमा ३ हजार ६ सय ४१ बालक र ३ हजार २ सय ४४ बालिका, कैलालीमा ७ हजार १ सय ७३ बालक र ५ हजार ९ सय ८४ बालिका जन्मिए।

छोरी बढी जन्माउने ६ जिल्ला

मुलुकका ७१ जिल्लामा छोरा नै धेरै जन्मिएको तथ्यांकले देखाउँछ। ६ जिल्लामा भने छोरी बढी जन्मिएका छन्। हिमाली, दुर्गम जिल्लामा मात्रै त्यस्तो अवस्था देखिन्छ। मुस्ताङ, इलाम, हुम्ला, रोल्पा, ओखलढुंगा, धनकुटामा मात्रै छोरी बढी जन्मिएका छन्। मनाङमा भने छोरा छोरी दुवै बराबर जन्मिएका छन्। मुस्ताङको लैंगिक अनुपात ९२ छ। यो जिल्लामा १०० छोरा जन्मिदा ९२ छोरी जन्मिएका छन्। त्यस्तै रोल्पाको लैंगिक अनुपात ९७ छ।  
जनसंख्याविद् एवं त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका प्रमुख प्रा.डा.योगेन्द्रबहादुर गुरुङ छोरा धेरै जन्मनुको मुख्य कारण पितृसत्तात्मक सोच रहेको बताउँछन्। ‘हाम्रो समाज पितृसत्तात्मक हो,’ गुरुङले भने, ‘छोरा नभई नहुने सोच अझै छ। बैतर्णी तार्ने, वंश धान्ने भन्ने छोरा नै हो भन्ने पितृसत्तात्मक सोचका कारण छोराको संख्या बढ्दै गएको देखिएको हो। कानुनमा जे भए पनि पैत्रिक सम्पत्ति पनि अझै पनि छोराकै हुने चलन छ।’ राज्यबाट ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको व्यवस्था भएकाले छोराले बाबुआमा पाल्नुपर्ने संस्कारले पनि छोराको संख्या बढ्दै गएको उनको भनाइ छ। पुरुषप्रधान समाजको प्रभाव जनसंख्यामा परेको प्रा.डा गुरुङको विश्लेषण छ। ‘प्रजनन दर घट्दै गयो, धेरै सन्तान जन्माउन चाहँदैनन्,’ उनले भने, ‘एक वा दुई जना जन्माउने हो। त्यसमा पहिलो छोरा जन्मियो भने, त्यसपछि रोकिहाल्छन्। छोरी जन्मिए मात्रै छोरा जन्माउनका लागि अर्को सन्तानतिर लाग्छन्।’ कानुनी र नैतिक हिसाबले गर्भमा रहेको सन्तान हेर्ने काम अवैध भए पनि पूर्वजानकारी लिएर गर्भपतन गराउने प्रवृत्ति पनि धेरै बढ्दै गएको उनको भनाइ छ। ‘मधेसमा प्रत्येक क्लिनिकमा समेत गर्भपतन सेवा उपलब्ध छ भनेर लेखिएको हुन्छ,’ उनले भने, ‘त्यसको अर्थ नै ‘सेक्स सेलेक्टिभ एर्बोसन’ हो। प्रविधिले सेक्स सेलेक्सन गर्ने सुविधा दिएको छ, कानुनी रूपमा त्यो गलत हो। तर, त्यो काम व्यापक भइरहेको छ।’ परम्परागत मानसिकता र कुसंस्कारले छोराको संख्या बढेको उनी बताउँछन्। खुला सीमानाका कारण पछि छोराको संख्या बढी भएको विज्ञहरू बताउँछन्।

यसले पर्ने प्रभाव

छोराको जनसंख्यामा भएको वृद्धिले विभिन्न क्षेत्रमा प्रभाव पार्ने विज्ञहरू बताउँछन्। जनसंख्याविज्ञ डा. खतिवडा जनसंख्याको यो सन्तुलनले विवाह, शिक्षा, रोजगारी, महिला सहभागिता लगायतमा प्रत्यक्ष असर पर्ने बताउँछन्। उनले यो प्रभाव अहिले नै देखिने थालेकाले समयमा नै नीति निर्माण तहबाट ध्यान दिनुपर्ने बताउँछन्। ‘यसको असर अहिले नै देखिन थालिसक्यो,’ उनले भने, ‘यो अर्लि वार्निङ हो। ०६८ मा लैंगिक अनुपात १ सय ६ थियो, अहिले दोब्बर भएर १ सय १२ पुगेको छ।’ अब नीति निर्माण गर्नेले यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ। ‘नीति निर्माण, कार्यक्रम, र यससम्बन्धी कानुन लगायतका पुनर्मूल्यांकन गर्ने हतारो भइसकेको उनको भनाइ छ। जनसंख्याविद् डा. खतिवडा हालको जन्मदरअनुसार आगामी ०८८ को जनगणनामा पुरुष र महिलाको जनसंख्या बराबर हुने सक्ने आंकलन गर्छन्। सधैं महिलाको संख्या बढी हुन्छ भन्न सकिन्न,’ उनी भन्छन्, ‘०८८ मा नै बराबर हुने अवस्था छ। अबको २० वर्षमा त पुरुषको जनसंख्या नै बढी हुन्छ।’

सन २०३० सम्म सहश्राब्दी विकास लक्ष

(एसटीजी)का अनुसार २०३० सम्म पुरुष महिला ५०÷५० प्रतिशत भन्ने नारा छ। त्यो जनसंख्याको असन्तुलनले यसलाई पनि प्रभाव पर्ने उनको विश्लेषण छ। पुरुष संख्या बढेपछि महिला सहभागितामा असर पार्छ नै।   लिंग पहिचान गरेर छोरा छोरी जन्माउने विषयलाई नियन्त्रण गर्नुपर्ने डा. खतिवडाको सुझाव छ। ‘लिंग पहिचान गरेर छोरा वा छोरी जन्माउने कामलाई पूर्णरूपमा प्रतिबन्ध लगाउनुपर्छ,’ उनले भने, ‘यस्तो गर्नेलाई कडा सजाय दिनुपर्छ। कानुनविपरीत भए पनि यो काम व्यापक रूपमा भई नै रहेको छ।’

Scroll to Top