जनतामा जब निराश, कुण्ठा र सामाजिक अराजकता बढ्छ तब देशको राजनीतिमा चुनौती उत्पन्न हुने : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा जब निराश, कुण्ठा र सामाजिक अराजकता बढ्छ तब देशको राजनीतिमा चुनौती उत्पन्न हुने बताउनुभएको छ ।
नेपाल निर्माण उद्योग परिषद्को पाँचौँ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनको बन्द सत्रलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै पोखरेलले नेपाल अहिले यही चुनौतीको अवस्थामा रहेको बताउनुभयो । देश आर्थिक संकटमा परेको कारण यो चुनौती अझ थपिएको पोखरेलको भनाइ छ ।
मुलुकलाई आत्मनिर्भर र गतिशील बनाउन नसक्दा देशको आर्थिक अवस्था कमजोर रहेको उहाँले स्पष्ट पार्नुभयो । राज्य हिजो जति खर्च गर्दथ्यो आज त्यति खर्च गर्न नसक्ने अवस्थामा रहेको पोखरेलको भनाइ छ ।
एमालेको सरकारले जुन गतिका साथ काम अगाडि बढाएको थियो सोही गतिमा अघि बढाउन सकेको भए देशमा अहिले यो अवस्था नआउने उहाँको तर्क छ । बिचमा एमाले सरकार हटेपछि देशको विकासको गति पछि परेको पोखरेलले बताउनुभयो । ‘एमाले र त्यसको नेतृत्वका विरुद्ध जुन प्रकारको घेराबन्दी भयो, त्यो नै आजको सङ्कट र बेथितिको कारण बनेको छ’, उहाँले भन्नुभयो ।
पोखरेलले देशमा विकास र समृद्धिको यात्रा एमालेसँग परामर्श गरेर अघि बढ्नुको सट्टा माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकलौटी ढङ्गले अघि बढेर एमाले बाहेकको सत्ता समीकरणको खेलमा लागेको कारण कांग्रेससँग समीकरण गरेर एमाले अघि बढेको बताउनुभयो । ‘सात बुँदे सहमति गरेर अहिलेको सरकार गठन भएको कुरा तपाईँहरूलाई जानकारी छँदै छ’, उहाँले भन्नुभयो ।
नयाँ सरकारसँग नागरिकको केही आशा र भरोसा बढेको पोखरेलले बताउनुभयो । दिगो विकास, शान्ति र स्थिरताको सङ्कल्प सहित ठुला दलहरूको सरकार बेनको कारण देशमा आशाको सञ्चार भएको उहाँको भनाइ छ ।
आज मुलुकमा जनमत विभाजित भएको बताउँदै उहाँले यसले धेरै राजनीतिक दल र अस्थिरता निम्त्याएको पोखरेलले बताउनुभयो । धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दल मुलुकको आवश्यकता भएको उहाँले स्पष्ट पार्नुभयो । ‘लोकतन्त्रमा राजनीतिक दल बलिया भएनन् भने राज्य बलियो हुँदैन, राज्य बलियो भएन भने विकासको नेतृत्व गर्न सक्दैन’, उहाँले भन्नुभयो ।
निर्माण व्यवसायीका पनि धेरै संस्था भन्दा बलियो संस्था आवश्यक रहेको उहाँको भनाइ छ । ‘सबै साथीहरूलाई यसमा जोड्नु पर्छ, यो संस्था जति विभाजित हुन्छ, राष्ट्र निर्माणको प्रक्रिया त्यति नै कमजोर हुन्छ’, पोखरेलले भन्नुभयो ।
मुलुकको राजनीतिलाई अब पुँजीवाद भित्र सुधार वा त्यसको विकल्पको बाटो दुई ध्रुवमा विभाजन गरी अघि बढ्नु पर्ने पोखरेलले बताउनुभयो । त्यसको लागि दुईवटा राजनीतिक पार्टी आवश्यक पर्ने उहाँको धारणा छ । सामन्तवादी शासन व्यवस्था अब सम्भव नभएको पोखरेलले स्पष्ट पार्नुभयो ।
पोखरेलले मुलुकमा अहिले अराजकता बढेको बताउँदै त्यसको सबैभन्दा बढी सिकार निर्माण व्यवसाय क्षेत्र भएको बताउनुभयो । अराजक समूहका कारण निर्माण व्यवसायीको दायित्व बढ्ने र समयमा काम सम्पन्न गर्न नसक्ने स्थिति बनेको पोखरेलको भनाइ छ ।

Scroll to Top