टिकटक बन्दले एनटीसी र एनसेलको आम्दानी ३ अर्ब गुम्यो

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकलाई नेपालमा बन्द गर्नुको असर टेलिकम कम्पनीहरुमा पर्न थालेको छ । गत कात्तिक २७ गते सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछिको ५ महिनामा मात्रै टेलिकम सेवाप्रदायक कम्पनीरुको आम्दानी करिब ३ अर्ब रुपैयाँले घटिसकेको छ ।

टिकटक बन्द भएपछि हालसम्ममा यसको व्याण्डविथ खपत घटेको आधारमा एनसेललेको मात्रै करिब डेढ अर्ब रुपैयाँ गुमेको छ भने सोही नै अनुपातमा नेपाल टेलिकमको पनि आम्दानी गुमेको उल्लेख छ ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुतीकरण गर्दै एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने ‘टिकटक बन्दकै कारण एनसेलको मात्रै १ अर्ब ४४ करोड रुपैयाँ आम्दानी घटेको छ ।’

निजी सेवाप्रदायकको जस्तै सरकारी कम्पनी नेपाल टेलिकम (एनटीसी) को पनि टिकटका कारण एनसेलकै हाराहारीमा आम्दानी गुमेको छ।

नेपाल टेलिकमको डेटा प्रयोगकर्ता एनसेलेको भन्दा १० प्रतिशत कम भएकोले १ अर्ब ३० करोडको हाराहारीमा टिकटकको कारण आम्दानी गुमेको टेलिकमका वरिष्ठ इन्जिनियर मधुसुदन दाहालले बताए ।

Scroll to Top