टेकानपुरको दबू प्याखँ (डबली नाच) र बलामी संस्कृति

(संस्कृति बिशेष)

साँझ छिप्पिदै जाँदा गाउँलेहरू गुठीघरमा जम्मा हुन थाल्छन् । कोही गुठीघर भित्र तयारीमा व्यस्त छन् । कोही बाहिर आँगनमा गफिदै छन् । धान थन्काउने चटारो सकिइसकेको छ । धान्य पूर्णीमाको जूनको उज्यालोमा गाउँलेहरुको चहलपहल देखिन्छ।  एकछिनमा गुठीघर भित्र वाजा बन्न थाल्छ । सबैको ध्यान गुठीघरको ढोका तर्फ मोडिन्छ । हातमा सलेदो बोकेर गुठीको जिम्मा लिने पालो परेको घरका सदस्य अघि लाग्छन पछिपछि नाच्दै सा-साना ४ जना वालकहरू राजकिय पोशाकमा अघि बढ्छन् । पङ्तीबध्द भएर सलेदोको उज्यालो पछ्याएका टोलीले डबलीमै रहेको सानो नारायणको मन्दिरलाई फन्को मारेर डबलीमा पसछ । दुई जना घोडचढीहरू घोडामा चढ्दै नाचझैं नाच्दै निस्कन्छन् । संगै हातमा फूल बोकेर आशागुरु हिडीरहेछन् । हातमा बन्दुक लिएर नाच्छै पछि पछि सिपाही हिडीरहेछन । अलि तल छ काठमाडौबाट धुनिवेशी, चिल्लाङ तर्फ जाने मूलबाटो । वाटो मास्तिर तरेली परेका गराहरु । त्यसैबिचमा छ जमुनाचौर । एउटा ठूलो जामुनोको रुखको फेदमा छ कालकुण्ड भैरवको मन्दिर । भर्खरमात्र रथयात्रा सहित पुजा भएको छ । गुठीघरको पालो परेका परिवारले रातभर जाग्राम बसेपछि विहान चारबजे नै भैरबका सेनामेनालाई त्यही छोडेर रथ बिहान गाउँ तर्फ उकालो लागेको हो । तीनै तरेली परेको गराहरू मास्तिरको सानो थुम्कोमा छ सुन्दर बलामी बस्ती टेकानपुर । दक्षिणतर्फ चन्द्रागिरीको घना जंगल, उत्तरतर्फ मनोरम इन्द्रमती फाँट पस्चिम तर्फ पुरानो थानकोट बस्तीको बिचमा रहेको टेकानपुर एउटा पृथक सांस्कृतिक परिचय बोकेको बस्ती हो ।

टेकानपुरका बलामी समुदायको साँस्कृतिक डबली नाच “दबु प्याँख” हरेदा राणाकालिन समयको टेकानपुरको सपाट चित्र यसरी मस्तिस्कमा नाच्न थाल्छ । अहिले समय धेरै नै परिवर्तन भइसकेको छ । अब ती मनोरम सुन्दर फाँटहरू घरैघरका शहरमा परिणत भइसकेका छन् । मल्लकालमा दरबारका भण्डारेहरूका रुपमा रहेका जाती पृथ्वीनारायण शाहको उपत्यका आक्रमण पछि विभिन्न ठाउँमा छरीएका भेटिन्छन् । नयाँ राजा संग मिलेर गएका केही बलामीहरूले खप्तरी बस्नेत लेख्नेर परिवर्तित भएका बुढापाकाहरू बताउँछन् । नयाँ पुस्ताले भने श्रेष्ठ लगायतका अरु नेवारी थरहरू समेत लेख्न थाल्दा करीब १४र१५ जिल्लामा भेटिएका बलामी जातीहरूका साँस्कृतिक संरक्षणमा चिन्ता गर्न थालिएको छ । उनीहरूको खेत खलियानमा आयल निगमको डिपो देखी विभिन्न भवनहरू ठडिइसकेका छन् । जमुनाचौर अब त्रिभुवन पार्कका नामले पिकनिक स्पोट बनिसकेको छ । तर टेकानपुरको त्यो सानो बस्तीमा देखाइने चुनदेवी जात्रा, महालक्ष्मी जात्रा र भैरवजात्राले अझै पनि इतिहासको त्यो कथालाई जस्ताको तस्तै ज्युँदो राखेको छ ।

बलामी समुदायको आफ्नै परम्परा छ, आफ्नै भाषा र भेषभुषा छ । अब भने नयाँ पुस्तामा साँस्कृतिक हस्तान्तरणमा संकट आउने पो हो की भन्ने चिन्ता बलामी समुदायमा छ । टेकानपुरको डबली नाच योमरी पुन्हीको साँझ देखाइन्छ । लामा छोटा गरी जम्मा १२/१३ वटा गिती नाटक शैलीका नृत्यहरू प्रश्तुत गरीने यो साँस्कृतिक निधिको आफ्नै मूल्य छ । यसमा देखाइने गिती नाटकहरूले इतिहासको कथा बोल्छन् । समयको चित्र कोर्छन् । समाजको सत्य देखाउँछन्   

ट्वाकय्

चार जना बालकहरूको सुन्दर लठ्ठी नाथ हो ट्वाकय् । यो नाच दबू प्याखँ को शुरुवात र अन्त्यमा नाचिन्छ ।

 सँरः घोडा नाच

कम्मर मुनीको भाग घोडा र कम्मर माथिको भाग घोडचढी जस्तो देखाइ नचाइने यो नाचमा राणाकालिन समय गाथा छ । दुई घोडचढी, आशागुरु र एक सिपाही गरी चार जनाले गर्ने यो नृत्यमा भाग लिन्छन् । दुई समुहमा रहेका गायन टोलीले संगसंगै पालै पालो गाउँछन् ।

नागा नाच

टेकानपुरको दबु प्याखमा नाचिने नाचमध्ये नागा नाच पनि एक हो। यस नाचमा केटाकेटीको प्रेम कथालाई रोचक ढङ्गले प्रस्तुत गरिन्छ।

जोगी नाच

 तीनजना  भारतको बिहारबाट पशुपतिनाथको दर्शन गर्न आएका जोगीहरू चितलाङ्को बाटो हुँदै चन्द्रागिरी प्रवेश गर्छन्। बाटामा हुने वार्तालापलाई संवादका रुपमा प्रस्तुत गर्दै बिचबिचमा गीतमा नृत्य गर्दै अगाडि बढ्ने कथामा जोगीहरू बाटामा एकअर्कासँग हाँसखेल ख्यालटट्टा गर्दै गाँजा पिउँदै हिँड्छन् बाटामा एक जोगी बिरामी हुन्छन् उनी झन्डै मर्ने अवस्थामा पुग्छन् तर अर्का सँगै रहेका नागाजोगीले झारफुक र जडीबुटी औषधिहरूको प्रयोग गरेर उनलाई बचाउँछन् यसरी त्यो बेलाको भारतदेखि नेपालको पशुपतिनाथ दर्शन गर्न आउनेदर्शनार्थीहरूको कथालाई यो नाचले देखाउँदछ।

 धाँक धाकयँ (बुढाबुढीको नाच)

यो नाच पनि बडो रोचक शैलीमा नाचिने एउटा नाच हो । यो नाचमा स्थानीय एक दम्पतिका बुढा घुम्ती व्यापारी हुन्छन् जो व्यापारी गर्ने सिलसिलामा घरबाट लामो समयसम्म बाहिर हराउँछन् । यता घरमा बुढी एक्लै हुन्छिन् र बुढी पनि आफूले लगाएका तरकारीहरू खोज्दै आफ्नो बारीको मुला लिएर मुला बेच्दै व्यापार गर्दै बुढालाई खोज्ने तरखरमा अगाडि बढ्छिन् । यसरी जाने क्रममा केही दिन पछि बाटोमा बुढाबुढीको भेट हुन्छ तर उनीहरू एकअर्कालाई चिन्दैनन् । व्यापारकै क्रममा एकअर्काका व्यापारका कुराहरू गर्दै उनीहरू नजिकिँदै जान्छन् । उनीहरुबीच शारीरिक सम्पर्क पनि हुन्छ । तर पनि एकअर्कालाई चिनेका भने हुँदैनन् । बुढाले पनि बुढीलाई खोज्दै जाने क्रममा नभेटेपछि लामाको सहयोग लिएर झारफुक र तन्त्र विद्याको साधनाबाट बुढीको खोजी गर्छन् र अन्तत संग बुढीलाई  रहेकी महिला आफ्नै बुढी भएको फेला पार्छन् । दुवैजना चकित हुन्छन् र एकअर्कालाई ससंकित नजरले पनि हेर्छन् र अन्तत घरबाहिरका परिबन्दहरुलाई बुझ्दै पुन उनीहरूको सम्मिलन हुन्छ। यसरी यो नाचले त्यो बेलाको सामाजिक परिस्थिति र श्रीमान श्रीमतीबीचको सम्बन्धलाई देखाएको छ ।  

राजा रानीको नाच

टेकानपुर दगु प्याखाका नाचहरु मध्ये राजारानीको नाच पनि एउटा प्रमुख नाच हो। यसमा राणाकालीन समयको चित्रलाई उतारिएको छ। जसमा राजा र दुईजना रानीको रमाइलो नृत्यको रुपमा राजारानीको नृत्य रहेको छ ।

माझी चुवा लडाईं नाच

माझीको नाच अर्को रोचक नाच हो। यस नाचमा राणा शासनकालका प्रमुख दर्जाका सैनिकहरू मनकामना दर्शनार्थ जान लागेका हुन्छन् । बाटोमा दुई जना चुवा (बोक्सी जस्तै) भेटिन्छन् र दुख दिन्छन् । त्यो बाधा जितेपछि मनकामना जाने क्रममा बेनीघाट पुगेपछि त्रिशुली नदी तर्नुपर्ने हुन्छ। त्रिशुली नदी तार्नको लागि दुईजना डुङ्गा चलाउने माझीहरू घाटमा भेटिन्छन् जर्नेल कर्नेलका सेवकहरू तथा आशागुरू सैन्य अधिकारीहरू भन्दा अगाडि नै गएर माझीहरूई खोला तार्नको लागि अनुरोध गर्छन् । माझीहरू खोला तार्न लाग्ने शुल्कको बारेमा कुरा गर्छन् । आशा गुरु र सैन्य अधिकारीहरूका सेवकले माझीहरूलाई ठूला मान्छे आएका र उनीहरूले केही नभनी तारिदिनुपर्ने भनेर जिद्दी गर्छन् सबै ढुंगामा बस्छन् ।  माझीहरूको आफ्नै श्रम सत्ता देखिन्छ त्यहाँ । उनीहरु आफै काजी भएको भन्दै आफूले भनेजति नदिए नतार्ने भन्छन् तर जर्नेल कर्नेलका सेवकहरूको ढिपीपछि सबै सैन्य अधिकारीहरूलाई राखेर उनीहरु डुङ्गा चलाउन थाल्छन् । ढुंगालाई बीचमा पुगेपछि उनीहरुले ढल्पल पारिदिन्छन् र डुङ्गा डुब्छ । ढुङ्गामा पानी आउन थालेपछि सबै अत्यासले चिच्याउन थाल्छन् त्यसै बीचमा उनीहरुले आफूले भनेजति रकम नदिए तार्न नसक्ने कुरा बताउँछन् र अन्तत उनीहरूले भनेकै रकम दिन्छन् ।  माझीहरुले सबैलाई पारी तार्छन् । पारी पुगिसकेपछि उनीहरू पनि लागेको शुल्क दिएर मनकामनातर्फ अगाडि बढ्छन्।  यसरी यो नाचले श्रमजीवीहरूको श्रमक्षेत्रको श्रमसत्तालाई पनि देखाउन खोजेको छ।

दबू प्याखँमा कमशः ट्वाकय्, सँरः घोडा नाच, जोगी नाच, लरीका, पोडे, माझी चुवा लडाईं, धाँक, धाकयँ बुढाबुढी, राजारानी, ज्योति र पुनः ट्वाकयः नाच प्रस्तुत गरिन्छ । अन्त्यमा पूजा गरेर गुठीघरमा नाच भित्र्याई उक्त दबू प्याखँ अर्थात् डबली नाच सम्पन्न हुन्छ ।

कुनै पनि ठाउँका किम्बदन्तीहरु/परम्परागत कथाहरू त्यस ठाउँका निधि हुन् । श्रुती परम्परा अझ महत्वपूर्ण छ किनभने श्रुती परम्परा सजिलैसँग एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने मात्र नभई समयानुसार परिवर्तन पनि हुन्छ । श्रुति परम्परामा चलिआएका यस्ता गीति नाटकहरूले मनोरञ्जन मात्र दिँदैनन्। यस्ता नाटकहरूले इतिहासमा नलेखिएका/किताबमा अभिलेखिकरण नभएका इतिहासका यथार्थ पाटाहरुलाई पनि कथा मार्फत देखाउने गर्दछन् ।  यस अर्थमा टेकानपुरमा देखाइने डबली प्याख (दबू प्याखँ) आफैमा महत्वपूर्ण नेपाली साँस्कृतिक सम्पत्ति हो । 

चन्द्रागिरि नगर पालिका वडा नं. ४ अन्तर्गतको दक्षिण भेगमा रहेको टेकानपुर गाउँ बलामी जातिको ऐतिहासिक थलो हो । प्रशासनिक भाषामा टेकानपुर भनेर चिनिने यो ठाउँलाई, नेपालभाषामा ‘तकीं बुँः र बलामी भाषामा ‘तिन्हुँः’ भनेर चिनिन्छ । यस गाउँमा आदिवासी बलामी जातिको बाहुल्यता रहेको छ ।

टेकानपुरका मुख्य जात्राहरू

टेकानपुरका बलामी समुदायका विभिन्न जात्राहरू र नाच (प्याखँ) छन् । १२ महिनामा १३ गुठी भएका बलामी भन्ने मान्यता पनि छ तीमध्ये प्रमुखक तीन जात्राहरू हुन्  । चुनदेवी जात्रा, कोइलाः पुन्हि महालक्ष्मी जात्रा र थइलाः पुन्हि भैरव जात्रा ।

चुनदेवी जात्रा : मातातीर्थ औंशीको भोलिपल्ट प्रतिपदाका दिन टेकानपुरको शिरको रूपमा रहेको महालक्ष्मी चउरस्थित चुनदेवी मन्दिरमा विशेष पूजा हुन्छ । गाउँभरिका गुठीयारहरूको सहभागितामा गुठीका थकालीको घरबाट बोका बलिसहितको पूजा सामग्री र खट निकालिन्छ । चुनदेवी मन्दिरमा पूजा अर्चनापश्चात् बाजागाजासहित् धुमधामले चुन्देवी जात्रा सम्पन्न गरिन्छ । चुन्देवी बलामीका साथै अन्य थरघरका पनि आराध्यदेवी रहँदै आएकी छन् ।

कोइलाः पुन्हि महालक्ष्मी जात्रा : मङ्सिर पूर्णिमा/सकिमना पुन्हि (जसलाई बलामीहरू कोइलाः पुन्हि भन्छन्) मा टेकानपुरबासीका आराध्यदेवी महालक्ष्मीको जात्रा हुन्छ । गुठीका थकालीको घरबाट पूजा निकाली महालक्ष्मी चउरस्थित देवी महालक्ष्मीमा बलिसहितको विशेष पूजा गरिन्छ । त्यहाँ समयबजि खाएर राति जाग्राम बस्ने प्रचलन छ । भोलिपल्ट बिहान भजन सकेपछि प्रसाद वितरण गरिन्छ । महालक्ष्मी पूजाको दिनमा गुठीमा नयाँ गुठीयार (सदस्य) प्रवेश गराउने र गुठीयारहरूको कार्य विभाजनमा केही हेरफेरसहित गरी जिम्मेवारी तोक्ने काम गरिन्छ । महालक्ष्मी जात्रालाई बलामीहरूले कोइलाः पुन्ही जात्रा भन्ने गर्छन् ।

थइलाः पुन्हि भैरव जात्रा : यःमरी पूर्णिमाको दिनमा ऐतिहासिक जमुना चउरस्थित (हाल त्रिभुवनपार्क क्षेत्र भित्र रहेको) प्राचीन कालकुण्ड भैरवनाथको विशेष पूजा हुन्छ । बिहानैदेखि शुद्ध भइ भैरव गुठीका थकालीको घरमा पूजा र खट तयार गरिन्छ । सम्पूर्ण गुठीयारहरू जम्मा भएर बाजागाजासहित भैरव मन्दिरमा पुगेर विधिपूर्वक बोका बलिसहित भैरवनाथको पूजा गर्ने चलन छ । साँझ बलि दिने कार्य सम्पन्न भएपछि समयबजी खाएर रातभर जाग्राम बसी भोलिपल्ट बिहान गाउँमा खट जात्रा सुरु गरिन्छ । चुनदेवी र महालक्ष्मीको जात्रामा मैं टेकानपुर गाउँभित्रको डबलीमा खट जात्रा हुन्छ । त्यसपछि थकालीको तर्फबाट पूजा गरेर खट भित्र्याई भैरव जात्रा सम्पन्न गरिन्छ । यही भैरव जात्रालाई बलामीहरूले थइलाः पुन्हि जात्रा भन्ने गर्छन् ।

सन्दर्भ सूची:

बलामी, श्याम, “टेकानपुरका बलामीहरू”, चन्द्रागिरि अनुशीलन, चन्द्रागिरि साहित्य समाज, २०८०

बलामी, मोहन बहादुर, “टेकानपु र बलामी समुदाय” सोधपुछ ।

बज्राचार्य, मनबज्र, नेपाली चाड-पर्वहरूको विवेचना, रत्न पुस्तक भण्डार काठमाडौं, २०७६

Scroll to Top