टौदहमा नागपूजा

कीर्तिपुर नगरपालिकामा वडा नं ६ मा रहेको टौदहमा नागपञ्चमीका अवसरमा आज मेला लागेको छ । काठमाडौं उपत्यका रहेको नागदहको पानी चोभारको डाँडा काटेर यहाँ बस्ती बसाउन शुरु गरेपछि नागदहको कर्कोटक नागलाई टौदहमा राखिएको किम्वदन्ती रहिआएको छ ।

टौदहमा प्रत्येक वर्ष काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट पूजा गर्न आउने भक्तजनको भिड लागेको छ । भक्तजनले दूबो, फूल, अक्षतालगायत सामग्रीले नागलाई पूजा गरी दूधको अर्घ दिने र दूधबाट बनाइने विशेष परिकार तथा बारीमा फलेको नयाँ फल चढाउने गर्छन् । साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो । नागपञ्चमीमा उक्त स्थानमा आएर नागका अष्टकूल अर्थात अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा आराधना गरेमा घर परिवारमा नागको भय नहुने र लक्ष्मीको बास हुने जनविश्वास रहेको स्थानीयवासी किरणचन्द्र केसीले बताए ।

सन् ७९ मा भेसुभिअस पर्वतस्थित ज्वालामुखी विस्फोटन हुँदा ध्वस्त भएको यो प्राचीन नगरमा उत्खनन गर्दा नागका आकृतिहरू भेटिएको समाचार प्रकाशमा आएबाट पनि नाग पूजाको प्राचिनता र व्यापकताको सहजै अनुमान गर्न सकिन्छ । नागपूजा प्रकृतिको पूजा मात्र नभएर नागलाई पानीको स्रोतको प्रतिकात्मक रुपमा पनि लिन सकिन्छ । चाडपर्व, नाचगान, कला कौशल र धर्मकर्म आदि अनेक सांस्कृतिक पृष्ठभूमिमा जुन नागको रूप, नागको महिमा देखाइएको छ त्यो सर्वात्मना पानीको स्वरूप र पानीको कहानीमा नै अन्तर्भाव भएको छ ।

नागपञ्चमी बारेको लोककथा

कुनै एक जना खेतीवालले आफ्नो खेतमा हलो जोत्दाजोल्दै जमिनमुनि बसिरहेका एक नाग परिवारका तीन जना बच्चालाई मारिदियो । यसबाट नाग बच्चाका आमा चाहिँ ज्यादै क्रुद्ध भएर खेतीवालको घरमा गई कृषक परिवारका आमाबाबु र दुई छोरालाई बदलाको रूपमा डसेर मारिदिई । त्यस घरमा एक जना छोरी मात्र बाँकी थिई । त्यसलाई पनि मार्न भनी रिसले आफ्नो फणा फैलाएर अगाडि बढ्दा त्यस छोरी चाहिँले हत्तपत्त त्यस सर्पको अगाडि दूधको भाँडो ल्याएर राखिदिई । यसबाट सर्पको हृदय परिवर्तन भयो । मार्ने मन भएन र श्रद्धाले राखिदिएको दूध पिउन थाली । दूध पिइसकेपछि खुसी भएर उसले भनी- “हेर नानी हो, आज नागपञ्चमीको दिन तिमीले मलाई दूध पिलायौ यसबाट म ज्यादै खुसी छु । अब म तिमीलाई मार्दिन । लौ माग तिमी के चाहन्छौ ?” नागको यस्तो कुरा सुनेर छोरी चाहिँले भनी- “मरेका मेरा बाबु- आमा र भाइहरू फेरि बाँचुन्, आजका दिन कुनै नागले नटोकुन् । यही मेरो पार्थना छ ।” यति कुरा सुनी ‘तथास्तु’ भनी नाग विलीन भयो । यसै दिनदेखि नागपञ्चमीको महत्त्व रहेको हो भन्ने हाम्रो लोक धारणा छ ।

Scroll to Top