‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा

विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको सङ्घीय राजधानी काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य (नेचर डेस्टिनेसन) का रुपमा घोषणा गरेको छ । ट्रिप एडभाइजरले सातवटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस–२०२४’ घोषणा गर्दै काठमाडौँलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य– २०२४ मा राखेको हो ।

विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये काठमाडौँ एक नम्बरमा परेको छ । ट्रिप एडभाइजरले सन् २०२४ मा उत्कृष्टमध्ये उत्कृष्ट गन्तव्यका सातवटा वर्गमा गन्तव्य घोषणा गरेको हो । जसमध्ये १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृतिक गन्तव्य, खाना गन्तव्य,  हनिमुन गन्तव्य र दिगो गन्तव्य छन् ।

त्यस्तै, अमेरिकाको चर्चित अखबार ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा विश्वभरका घुम्नुपर्ने गन्तव्यको सूचीमा नेपालको मुस्ताङ समावेश गरेको छ । विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै न्यूयोर्क टाइम्सले मुस्ताङलाई सूचीकृत गरेको हो ।

न्यूयोर्क टाइम्सले नेपालको हिमाल पारिको जिल्ला भनेर चिनिने पर्यटकीय क्षेत्र मुस्ताङलाई समावेश गरेको छ । उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको टाइम्सले उल्लेख गरेको छ ।

यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो । सिएनएनले मुस्ताङलाई चिनाउँदै पर्वतीय पदयात्राका लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत रहेको उल्लेख गरेको थियो ।

मुस्ताङ धार्मिक, पुरातात्विक एवं पर्यटकीय गन्तव्य हो । प्रसिद्ध धार्मिक स्थल मक्तिनाथ मुस्ताङको धार्मिक पर्यटक आकर्षण गर्ने धरोहर पनि हो । ऐतिहासिक र पौराणिक लोमन्थाङ अर्को आकर्षण छ ।

Scroll to Top