ढुवानीको सवारी साधन थन्क्याउने महासचिव राजेन्द्र बानियाँको चेतावनी

काठमाडौं ।

दुर्घटनामा परेको ट्रकलाई आगजनी गरेको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ । आइतबार रानी भन्सारतर्फ गइरहेको बा.प्र.३–००१ ख नम्बरको मालवाहक ट्रक बिराटनगर–५ बरगाछीमा को ३६ प २८८९ नम्बरको स्कुटरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको थियो ।

सो घटनामा उत्तेजित भीडले ट्रकमा आगजनी गरेको र ट्रक जलेर पूर्ण रुपमा क्षति भएको थियो । सोही विषयमा महासंघले आपत्ति जनाएको हो । महासंघका महासचिव राजेन्द्र बिक्रम वानियाँले सडकमा त्यस्ता अराजक गतिवधि नरोकिए र यस्ता घटनाहरुलाई नजर अन्दाज गरिए महासंघ बिरोधका कार्यक्रम गर्न बाध्य हुने बताए । उनले आफुहरुको मागलाई वेवास्ता गरिए महासंघले सशक्त विरोध गर्दै ढुवानीको सवारी साधनहरु थन्क्याउन बाध्य हुने चेतावनी समेत दिए ।

सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र घाईतेको उपचारका लागि अस्पताल लगिरहेको अवस्थामा ट्रकमा आगजनी गरिएको भन्दै महासंघले भर्त्सना समेत गरेको हो ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै सडक दुर्घटना अप्रत्यासित र काबु बाहिरको परिस्थितिमा हुने भन्दै भीडले दुर्घटनामा परेका पीडितहरुको उद्दार गर्न छाडेर अर्को दुर्घटना गरेका भन्दै ती व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ । साथै क्षति भएको ट्रकको बिगो समेत आगजनीमा संलग्न व्यक्तिहरुबाटै असुल उपर गराउन समेत माग गरिएको छ ।

Scroll to Top