थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा २१ कृषकको नतिजा सार्वजनिक

थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजहरुको नतिजा सार्वजनिक गरिएको छ । करिव १ सय २५ जनाको सहभागिता जनाएको कृषकहरु मध्येबाट २१ कृषकको नतिजा सार्वजनिक गरेको हो ।

उपजहरुको प्रत्येक समूहबाट पहिलो, दोस्रो र तृतीय गरी ३/३ जना किसानलाई पुरस्कृत गर्न लागिएको थाहा नगरपालिकाका कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । थाहा नगरपालिकाले सार्वजनिक गरेको प्रदर्शनको नतिजा अनुसार काउली तथा जरे तरकारी बालीतर्फ थाहा २ को सुमित्रा घलानको काउली प्रथम भएको छ । थाहा ३ को राजकुमार घिसिङको ब्रोकाउली द्वितीय र थाहा १ को अनिता सिन्तानले उत्पादन गरेको मुला तृतीय भएको छ । फलफूल समूहको तरकारी बालतर्फ थाहा २ को साननानी ढकालले उत्पादन गरेको फर्सी प्रथम, थाहा ६ को थाहा सिङको अकबरे द्वितीय र थाहा ४ को कुमार कार्कीले उत्पादन गरेको लौका तृतीय भएको छ । कन्दमूल बालीतर्फ थाहा २ को कृष्ण कार्कीले उत्पादन गरेको पिडालु प्रथम, थाहा १२ को देउती माया आलेले उत्पादन गरेको पिडालु द्वितीय र थाहा २ को डोलकुमारी ढकालले उत्पादन गरेको बेसार तृतीय भएको छ ।

त्यस्तै फलफूल बालीतर्फ थाहा १२ को भक्त बहादुर आले मगरले उत्पादन गरेको एभोकाडो प्रथम, थाहा १२ कै क्षेत्रबहादुर आलेले उत्पादन गरेको सुन्तला द्वितीय र थाहा ६ को मजिरमान महर्जनले उत्पादन गरेको किबी तृतीय भयो । आलु बीउतर्फ थाहा २ को भवानी भमालले उत्पादन गरेको कार्डिनल आलु प्रथम, थाहा ४ को रेशमबहादुर विष्टले उत्पादन गरेको कार्डिनल आलु द्वितीय र थाहा ३ को सानोभाइ खड्काले उत्पादन गरेको मर्मल टप आलुको बीउ तृतीय भएको छ । अन्न बालीतर्फ थाहा २ को शिवराम कार्कीले उत्पादन गरेको देउती मकै प्रथम, थाहा २ कै पार्वती ढकालले उत्पदन गरेको देउती मकै द्वितीय र थाहा २ की रीता कुमारी थापाले उत्पादन गरेको कोदो तृतीय भएको छ भने अन्य बालीतर्फ थाहा १२ को दुर्गा बहादुर आले मगरले उत्पादन गरेको कफी प्रथम, थाहा ६ को बाराही मौरी घारको सेरेना गौरी द्वितीय र थाहा १२ कै भक्त बहादुर आले मगरले उत्पादन गरेको कफी तृतीय भएको छ ।

प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय भएका कृषि उपज उत्पादन किसानलाई मंसिर २५ गते थाहा महोत्सवको समापनका दिनमा पुरस्कार वितरण गरिने छ ।

Scroll to Top