दसैंको भ्रमणका लागि काठमाडौं नजिकको गन्तव्य हुन सक्छ चित्लाङ्ग

काठमाडाैंः दसैँको समयमा मानिसहरू परिवारसहित घुम्न रुचाउँछन् । वृद्धवृद्धा र बालबालिकासहित घुम्न निस्कनुपर्दा गाडीको सुविधा भएका स्थानमा जानु उपयुक्त हुन्छ । काठमाडौं नजिकै केही त्यस्ता गन्तव्यहरु छन्, जो प्राकृतिक र सांस्कृतिक रूपमा निकै सुन्दर छन् । जहाँ सुविधासम्पन्न होटल तथा स्तरीय होमस्टेहरू पनि उपलब्ध छन् । स्थानीय समुदायले सञ्चालन गरेका होमस्टेहरुले पारिवारिक वातावरणमा पर्यटकको सत्कार गर्ने गरेका छन् ।

पर्यटकीय गन्तव्यहरुमध्ये काठमाडौं नजिकको चित्लाङ्ग पनि एक हो । शान्त वातावरण, मनोरम दृश्य, चारैतीर हरियाली, कलकल बग्ने खोला , विविध जाती , भाषा , कला संस्कृतिको अनुपम सम्मिलन र सामञ्जस्यता रहेको एक अदभूत मिनि उपत्यका हो – चित्लाङ्ग ! पौराणिक कालमा चित्रापुर नामले समेत परिचित चित्लाङ्गमा अशोककालिन चैत्य , धार्मिकरुपमा विशेष महत्वको स्वच्छन्द भैरवनाथको मन्दिर , प्राचीन शिलालेख , सातधारा परिसर , राणाकालिन पाटी , सत्तल , दरबार लगायत अनेक सम्पदाहरु रहेका छन् । कुनै समय उपत्यका भित्रिने प्रमुख नाकाको रुपमा रहेको साथै , मान्छेले गाडी बोकेर उपत्यका भित्र्याएको ऐतिहासिक चन्द्रागिरि सेतो पहरा मार्ग ( हाल गणेशमान सिंह मार्ग ) चन्दनगिरि – चन्द्रागिरि डाँडा हुँदै चित्लाङ्ग पुग्न सकिन्छ । ( हाल चन्द्रगिरि केवुलकार चढेर समेत जान सकिन्छ !) काठमाडौं – कलंकीबाट जम्मा १८किलोमिटर दुरिमा रहेको चित्लाङ्ग बहुआयामिक पर्यटकीय गन्तव्यकोरुपमा विकास हुँदै गएको देखिन्छ ।

मकवानपुरको थाहा नगरपालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्ने पृथ्वीनारायण शाहले पहिलोपटक नेपाल खाल्डो नियालेको भञ्ज्याङ्भन्दा अलि उता तोप्लाङ्ग जाने डाँडामा अहिले प्याराग्लाइडिङ पनि खुलेको छ । चित्लाङ्ग घुम्न जाने पर्यटकहरुले त्यसको भरपुर मज्जा समेत लिन सक्नेछन् । डेढ / दुई घण्टाको गाडी यात्रा मै पुग्न सकिने चित्लाङ्गमा अहिले आधुनिक सुविधा सम्पन्न उत्कृष्ट रिसोर्टहरू छन् । यसका साथै स्थानीय संस्कृति नियाल्न मिल्ने होमस्टेहरू पनि छन् । होमस्टेमा बस्दा उपयुक्त हुन्छ । चित्लाङ्ग पुगेर एक रात बास बसेर मज्जाले घुमेर फर्किन सकिन्छ ।

Scroll to Top