दामनको ऋषेश्वर : हिन्दु र बौद्ध धर्मको संगम स्थल

काठमाडौं ।
मकवानपुरको उत्तरी क्षेत्रस्थित दामनको ऋषेश्वर क्षेत्र धार्मिक सहिष्णुताको उदाहरण बनेको छ । हिन्दु र बुद्ध धर्मावलम्बीहरूले आ–आफ्नो आस्था अनुसार यहाँ पूजा गर्छन् ।
ऐतिहासिक, सांस्कृतिक, धार्मिक नगरी थाहा नगरको सिमानामा पर्ने मन्दिरलाई हिन्दु धर्मावलम्बीले यसलाई ऋषेश्वर महादेव र बौद्धमार्गीले पद्यसम्भव (छिमि झ्याङछुप) का रूपमा यहाँ पूजा गर्दै आएका छन् ।
हिन्दु र बौद्ध दुवै धर्माबलम्बीहरु ऋषेश्वरमा आएर आआफ्नै तरिकाले पुजाआजा गर्छन् । ऋषेश्वरमा आएर पूजा गर्दा आफूले मनले चिताएको पुरा हुने विश्वार छ, जसले गर्दा हिन्दु र बौद्ध धर्माबलम्बीहरु भाकल भाक्छन् र पुरा भएको भन्दै धन्यवाद दिन आउँछन् ।


सातौँ शताब्दीमा पद्यसम्भव काठमाडौँ हुँदै चीन जाने क्रममा दामन र फर्पिङमा बसेर गएको विश्वास गरिन्छ ।
‘हिन्दु र बौद्धमार्गीबीचमा धार्मिक सहिस्णुता रहेका कारण नै दुवै धर्मावलम्बीहरूको संयुक्त मन्दिर रहेको हो’ एक स्थानीय भन्छन्, ‘यो गुफालाई हिन्दु धर्मावलम्बीले भन्दा पनि बुद्धिस्टहरुले बढी मान्ने गरेका छन् । यो गुफालाई दुवै धर्मको तिर्थस्थलका रूपमा लिन सकिन्छ ।’


यसलाई बुद्धिष्ट लामाहरूले छिमि झ्याङछुप गुफा भनेर चिन्दछन् । गुफाको बारेमा पुराना कृति तथा आधिकारिक दस्ताबेजहरू नभेटिए पनि लामाहरू टाढा टाढाबाट आएर लोसुम धोसुम (तीन वर्ष तीन महिना)को तपस्यामा बस्ने गर्छन् । लामाहरू तीन वर्ष तीन महिनासम्म पनि यहाँ तपस्या गर्छन् ।
‘गुफामा पद्यसम्भवको आकृति छ । पद्यसम्भव गुरु आएर यहाँ ध्यान गर्न बस्नु भएको थियो रे, उहाँ बसेको स्थानमा उहाँकै आकृति बनेको छ । यो आकृतिलाई हिन्दु र बौद्ध दुवै थरीले पूजापाठ गर्ने गर्छन् ।’ एक स्थानीय बताउँछन् ।


संभवले तपस्या गर्ने क्रममा पानीको अभाव भएपछि ध्यान गरेर पानी निकालेको समेत बताइन्छ । त्यही पानी अझैसम्म प्रयोगमा रहेको स्थानीय किंवदन्ती छ । त्यही पानीमा नुहाएर चित्त शुद्ध गरेपछि मनले मागेको पुरा हुने तिर्थयात्री बताउँछन् ।
ऋषेश्वरमा दर्शन गरेपछि नबोल्ने बच्चा बोल्छन् भन्ने सुनेर दर्शन गर्न आएको ललितपुरको ठेचोबाट आएकी मिना केसी बताउँछिन् ।
त्यस्तै, ऋषेश्वरमा दर्शन गर्दा मन शान्त हुने र मनले चिताएको पुग्ने हुँदा बर्सेनी आउने गरेको काठमाडौं एयरपोर्ट बस्ने भरत कार्की बताउँछन् ।


दामन, सिमभञ्ज्यांगबाट देखिने हिमालको मनमोहन दृष्य, वरिपरिको शान्त, हरियाली वातावरणले आफूलाई ज्यादै मोहित बनाएको काठमाडौंबाट आएकी सरिता कार्की बताउँछिन् । काठमाडौंको उकुसमुकुस वातावरणबाट केही समयको लागि भए पनि रिफ्रेस्मेन्ट हुन बेलाबेलामा दामन, सिमभञ्ज्याङ्ग आउने गरेको पनि बताइन् ।


काठमाडौंको चन्द्रागिरि, चित्लाङ्ग, टिस्टुङ्ग हुँदै जान सकिन्छ । यो काठमाडौंबाट सबैभन्दा छोठो बाटो हो, ऋषेश्वर मन्दिर जान । काठमाडौंबाट नौबिसे हुँदै ८० किलोमिटरको दुरीमा रहेको दामनको ऋषेश्वर क्षेत्रमा पुगिन्छ ।
गाडीबाट झरेर आधा घण्टाको पैदल यात्रा गरेपछि मन्दिर पुगिन्छ । बाटो, जंगलको बीचमा भए पनि साना साना खोला, ठाउँ ठाउँमा झर्ना, हरियाली, शान्त वातावरण, ठाउँ ठाउँमा ढेडु बाँदरहरु हेर्दै मन्दिर पुगेको पत्तै हुँदैन ।


आन्तरिक तथा बाह्य पर्यटकहरुले अहिले पालुङ्ग, दामन, सिमभञ्ज्याङ्ग क्षेत्रमा चहलपहलबढी रहेको स्थानीय पत्रकार शम्भु अधिकारी बताउँछन् ।
यस क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिकको प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरु अझ धेरै आउने र यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने अधिकारी बताउँछन् ।

Scroll to Top