दूधमा बर्डफ्लुको भाइरस फेला 

काठमाडौं । दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ । अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्ड फ्लु भाइरस संक्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ । तर, उक्त भाइरस दूधमा कति समयसम्म टिक्छ भन्ने कुरा स्पष्ट भने नभएको डब्ल्यूएचओले जनाएको छ ।
एभियन इन्फ्लुएन्जा ‘एच फाइभ एन वान’ पहिलो पटक १९९६ मा देखा परेको थियो । तर संक्रमित स्तनधारी जनावरहरूको संख्यामा वृद्धिसँगै २०२० पछि चराहरूमा प्रकोपको संख्या द्रुत रूपमा बढेको छ । जसका कारण लाखौं पशुपंक्षीहरु संक्रमित भएका छन् ।
गत महिना गाई र बाख्रामा पनि बर्डफ्लुको लक्षण देखिए पछि यसलाई अति संवदेनशील रुपमा विज्ञहरूले लिएका छन् । अमेरिकी अधिकारीहरूले यस महिनाको सुरुमा टेक्सासको डेरी फार्ममा काम गर्ने एक व्यक्ति गाईवस्तुको सम्पर्कमा आएपछि बर्ड फ्लूको संक्रमित भएको पुष्टि गरेका थिए ।
संक्रमित जनावरको दूधमा पनि भाइरस भेटिएको र विज्ञहरूले अझै पनि दूधमा भाइरस कति समय बाँच्न सक्छ भनेर अनुसन्धान गरिरहेको जनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेन्किङ झाङले भने, ‘टेक्सासमा भएको घटना एउटा गाईबाट एभियन इन्फ्लुएन्जाबाट मानिसमा सङ्क्रमित भएको पहिलो घटना हो ।’ टेक्सासको स्वास्थ्य विभागले गाईवस्तुमा संक्रमण व्यावसायिक दूध आपूर्तिको लागि चिन्ताको विषय नभएको प्रतिक्रिया दिएको छ ।

Scroll to Top