देउवाले बोलाए बिपक्षी दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनबारे सत्तापक्षका दलहरूसँगको बार्ता सकारात्मक भएपछि संसद्मा विरोधका क्रममा साथ दिएका दलहरुसँग परामर्श गरेर मात्रै निर्णय लिने गरी सभापति देउवाले बैठक बोलाएका हुन् । बैठक अहिले बिहान १० बजे संसद् भवनमा देउवाको कार्यकक्षमा हुने देउवाको सचिवालयले जनाएको छ । 

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई बोलाइएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आएको कांग्रेसले मंगलबार सरकारले बजेट पेश गर्ने कार्यक्रम रहेकोमा सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सहमतिका लागि छलफल गरिरहेको छ । 

बजेट पेश गर्ने कार्यसूचीसहित संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची छ । 

Scroll to Top