देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।

देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज १५औं वार्षिक साधारणसभा भएको छ ।
सांसद कृष्णगोपाल श्रेष्ठले देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताएका छन् ।


देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामनारायण घिमिरेले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गर्दै बचतकर्तालाई समय समयमा कार्यालयमा आएर संस्थाको वित्तीय जानकारी लिन आग्रह गरे ।


सोही कार्यक्रममा ‘सर्वोत्कृष्ट कर्मचारी सम्मान’ शिवकुमार थापा मगर र आस्था अर्याललाई रु पाँच हजारसहित प्रदान गरिएको थियो । निरा श्रेष्ठ, राजेन्द्र गोपाली, मीनादेवी श्रेष्ठ र रोहितबहादुर बलामीलाई पनि उत्कृष्ट बचत सदस्यका रूपमा सम्मान गरिएको थियो भने गत वर्षको माध्यामिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने आकृति श्रेष्ठ र रोसिस श्रेष्ठलाई ‘देव दर्शन अवार्ड’ प्रदान गरिएको थियो । सो अवार्डको राशि रु पाँच हजार छ ।
विसं २०६६ असार ६ गतेदेखि आफ्नो सेवा थालनी गरेको सहकारीमा हाल तीन हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन् भने कूल सम्पत्ति रु एक अर्ब १३ करोड २७ लाखभन्दा माथि पुगेको जनाइएको छ ।

Scroll to Top