काठमाडौं : देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ। काठमाडौं, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ।
सङ्क्रमणले गम्भीर अवस्थामा पुर्याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए।
‘हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्याए ५० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ।
हैजा सङ्क्रमितमध्ये ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन तर उनीहरूको दिसामा पहिलादेखि १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ र लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ।
२० प्रतिशतलाई चौलानी जस्तै दिशा हुने र पानीको अभावजस्ता तीव्र लक्षण देखिन्छन्’, उनले भने।
झिगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै दिशापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ।