धादिङको चालिसेमा “बहुउद्देश्यीय धुनिबेशी नगर महोत्सव –२०८०”को आयोजना हुँदै

काठमाडौं ।
धादिङको धुनिवेशी नगरपालिका ६ चालिसेमा “बहुउद्देश्यीय धुनिबेशी नगर महोत्सव –२०८०”को आयोजना भइरहेको छ । स्मार्ट धुनिवेशी युवा क्लवको आयोजनामा भएको महोत्सवमा स्थानीय स्तरमा उत्पादिन वस्तु तथा कृषि उपकरणहरुको प्रवर्द्धन, प्रदर्शन र बिक्रीवितरणको हेतुले आयोजना गरिएको महोत्सव क्लवका अध्यक्ष शदिप विक्रम शाहले जानकारी दिए ।

धुनिवेशी नगरको पहिचानलाई चिनाउन, यहाँको कला, संस्कृति, भेषभुषा, धार्मिक एवं पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न, लघुउद्यम, हस्तकला, घरेलु तथा साना उद्योग, कृषि तथा कृषिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्नुका साथै नयाँ प्रविधिको जानकारी, स्वदेशी उद्योगलाई प्रतिस्पर्धी उद्योगको रुपमा विकास गराउन, स्थानीय संस्कृतिको प्रचार प्रसार र जगेर्ना गर्नुका साथै विविध उद्देश्यका साथ “बहुउद्देश्यीय धुनिबेशी नगर महोत्सव –२०८०” आयोजना गरिएको शाहले जानकारी दिए ।

उक्त महोत्सवको विशेष आकर्षकको रुपमा स्थानीय कलाकारहरूको नृत्य प्रतिभालाई पहिचान गर्ने उद्देश्यका साथ “धुनिबेशी आईडल–२०८०” को छनोट गर्ने कार्यक्रम रहेको छ भने हरेक दिन ख्याति प्राप्त राष्ट्रियस्तरका कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुतिहरू रहनेछन् ।
मनोरञ्जनका लागि बाल उद्यान, रोटे पिङलगायत अन्य खेल सामाग्रीहरु रहेको सो महोत्सव धुनिवेशी नगरपालिका वडा नं. १, २ ,३, ४, ५, ६, ७, ८ र ९ वडाको समन्वयमा यही पुस १५ गतेसम्म चल्ने छ ।

Scroll to Top