धादिङको धुनिवेशीमा २७ गतेबाट जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिता हुने

काठमाडौं । धादिङको धुनिवेशीमा जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता हुने भएको छ । दशौँ जिल्ला लिग फुटबल प्रतियोगिता धादिङको धुनिवेशी ५ मा रहेको धुनिवेशी खेल मैदानमा फागुन २७ बाट सुरु हुन गइरहेको धादिङ जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । दुई समुहमा विभाजन गरेर खेलाईने प्रतियोगितामा जिल्लाभरीका १० वटा क्लबले भाग लिएको संघका अध्यक्ष रमेश अधिकारीले बताए।
उनका अनुसार प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुने टिमलाई ७५ हजार र सेमिफाईनलमा प्रवेश गर्ने दुई टिमलाई २५र२५ हजार रुपैँयाको नगद पुरस्कार प्रदान गरिने छ । यस्तै पाँच उत्कष्ट विधामा पर्ने खेलाडीहरुलाई ५ हजार प्रदान गरिने अध्यक्ष अधिकारीले बताए ।

पत्रकार सम्मेलनमा सँघका महासचिव रामहरी थापाले फिफा र एएफसीको नियम अनुसार खेलाईने खेलका विजेता क्लब नै स्वत बागमती प्रदेश फुटबल प्रतियोगितामा सहभागी हुने बताए ।

प्रतियोगिताको सहआयोजक रहेको धुनिवेशी युवा समाजका अध्यक्ष दिनेश आचार्यले प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न आफुहरुले खेल मैदानको व्यवस्थापन लगायतका कामहरु गरिरहेको बताउनुभयो ।

यस्तै समाजका सचिव भुवन श्रेष्ठले धुनिवेशीमा हुन लागेको जिल्ला स्तरिय प्रतियोगितामा खेलाडीहरु जिल्ला भित्रकै हुनुपर्ने र जिल्ला भित्रका खेलाडी नभएमा स्वतः प्रतिस्पर्धी टिम विजयी घोषणा गरिने बताए ।

उक्त लिगका लागि अखिल नेपाल फुटबल सँघले ३ लाख रुपैँया सहयोग गर्ने भएको छ । जिल्लाका धुनिवेशी नगरपालिका सहित निलकण्ठ नगरपालिका, थाक्रे, गल्छि, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिकाले पनि प्रतियोगितामा साझेदारी गर्ने भएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न १३ देखी १५ लाख रुपैँया खर्च हुने आयोजकले जनाएको छ । फागुन २७ गते देखि सुरु हुने प्रतियोगिता चैत्र ६ गते सम्म सञ्चालन हुनेछ ।

Scroll to Top