धेरै भ्रष्टाचार हुने सूचीमा नेपाल १०८औं स्थानमा 

काठमाडौं ।

मुलुकको आर्थिक अवस्था जर्जर छ। तर, भ्रष्टाचार भने मौलाउँदो छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले भ्रष्टाचार व्याप्त हुने सूचीमै नेपाललाई राखेको छ। टीआईले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२३ ले पनि भ्रष्टाचार मुलुकको गम्भीर समस्याका रूपमा देखाएको छ। 

भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) ०२३ मा नेपालले ३५ अंक पाएको छ। अर्थात् नेपाल १०८औं स्थानमा छ। भ्रष्टाचार कम हुने देशले धेरै अंक पाउँछन्। ०२२ मा नेपालको अंक ३४ थियो। अर्थात् ११०औं स्थान थियो। अघिल्लो वर्षभन्दा एक अंक सुधार भए पनि भ्रष्टाचार नियन्त्रणमा भने खासै उपलब्धि नभएको सूचकांकले देखाएको छ।

गत वर्षको तुलनामा केही सुधार भए पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा नेपाल रहेको ट्रान्सपरेन्सी नेपालका अध्यक्ष पदमीनि प्रधानाङ्गले जानकारी दिइन्। ‘राजनीतिक पदाधिकारीद्वारा मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट उन्मुक्ति पाउने व्यवस्थाको अन्त्य हुनुपर्छ,’ प्रधानाङ्गले भनिन्।

सीपीआईमा एक अंक सुधार भएको देखिए पनि मुलुकमा भ्रष्टाचार भने झनै बढेको विज्ञहरू बताउँछन्। पूर्वसचिव शारदाप्रसाद त्रिताल १५ वर्षयता भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै प्रयास नगरेकाले सुधार हुने सम्भावना नभएको बताउँछन्। केही ठूला काण्डमा सरकारले कारबाही प्रक्रिया अघि बढाएका कारण एक अंकको सुधार देखिए पनि मुलुकमा भ्रष्टाचार झनै बढेको बताउँछन्, अर्का पूर्वसचिव खेमराज रेग्मी। 

यस वर्षको प्रतिवेदनमा विभिन्न देशको औसत अंक ४३ छ। ५० भन्दा कम अंक पाउने देशमा भ्रष्टाचार संस्थागत एवं धेरै छ भन्ने देखाउँछ। एसिया प्रशान्त क्षेत्रको औसत अंक ४५ छ। नेपालको पनि औसत अंकभन्दा निकै कम छ। विश्वका दुईतिहाइ बढी मुलुकमा भ्रष्टाचार मौलाएको सीपीआईले देखाउँछ। ती देशमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेको उल्लेख छ। यो सूचकांकमा १८० देश सहभागी छन्। 

१० वर्षयता मुलुकमा भ्रष्टाचार नियन्त्रणमा कुनै सुधार हुन सकेको छैन। सूचकांकामा १/२ अंक तलमाथि हुने बाहेक उल्लखेनीय सुधार नभएको सीपीआईले देखाउँछ। सन् २०१२ मा नेपालको कुल अंक २७ थियो। त्यतिबेला १३९ औं स्थानमा थियो। २०१३ मा ३१ अंक प्राप्त गरी ११६औं स्थानमा आयो। त्यस्तै सन् २०१४ मा २९ अंक प्राप्त गरी १२६ र २०१५ मा २७ अंक प्राप्त गरी १३०औं स्थानमा थियो।

Scroll to Top