नदी किनारामा उभिएर

मौन आवाज

हेर्दैछु

बादल लागेको आकाश छ शिरमाथि ।

लाग्दैछ

मान्छे हिँडिरहेको छ

फराकिलो सडकमा

साँघुरो गल्लीमा

या / कतै दुस्वप्नको बाटोमा !

आउला एकदिन

फूल फुल्ने याम

घमाइलो घाम

या / परमधाम

यस्तै छ – चिन्तन !

केही दुखेको छ

कतै पोलेको छ

हृदय छट्पटीमा छ

आखिर यही त जीवन हो !

हेर्दैछु

भोग्दैछु

बग्दै आएको बुढो रुखको ठुटो

कुनै कमजोर घरको दलिन होला

या / मुर्दाघाटको काठ होला

या / आफ्नै मृत लास होला !

नदी किनारामा छु

बग्ने ठाउँमा छु

बगाउने ठाउँमा छु ।

बस्छु

जान्छु

केही ठेगान छैन !

आउँदा आएको थिएँ

जाँदा जानेछु ।

परबाट कोही आउँदैछ

नजिकबाट कोही जाँदैछ !

चेतना शून्य छ

शून्यमा चेतना छ ।

खुसीको एउटा सानो संग्रह

खोल्सामा छ

उता आँशुको विशाल समुन्द्र छ !

उठेको छाल साम्य हुनेछ

दुखेको घाउ निको हुनेछ ।

निर्धक्क सास फेर्छु भन्छु

हावा बहने दिशा बद्लिन्छ

दृश्य बद्लिन्छ

टाउको घुम्छ भूमरीको गति भन्दा दोब्बर –

– तेब्बर – चौब्बर – पचब्बर !

क्षणमै भीषण वर्षात हुन्छ

नदीको आकार बद्लिन्छ

सायद / जिन्दगी अब डुब्छ !

हेर्दैछु

पाउमुनि भास्सिंदै गएको जमीन छ !

चराहरुको पखेटा झरेको छ

यादहरु यहीं छन्

म कता जाने होला ?

लाग्दैछ

मजस्तै नदी किनारामा उभिएर

तिमी केही सोच्दै छौ !

लाग्दैछ

मजस्तै जीवन किनारामा उभिएर

तिमी केहि सोच्दैछौ !

Scroll to Top