नयाँ वर्षको पहिलो दिनको मौसम कस्तो होला ?

काठमाडौं ।  कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम भन्ने कौतूहल जो कसैमा पनि हुनसक्छ । नयाँ वर्ष २०८१ वैशाख १ गते त शनिबार नै परेकाले विदा मनाउन विशेष कार्यक्रम पनि बनेको हुन्छ ।

प्रिमनसुनको सुरुआत भएकाले मौसमको हालखबर प्रति सबैको चासो हुनु स्वाभाविक नै हो । त्यसदिनको मौसमका बारेमा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान माहाशाखाले शनिबार दिउँसो  देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना पनि देखाएको छ । कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखा जनाउँछ ।

शनिबार राती भने गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केहीदिन यता बाक्लो धुलोले प्रदुषित भएको काठमाडौं उपत्यकाको आकाश आज अपरान्ह परेको पानीले सफा बनाएको छ । श्वासप्रश्वासमा समेत जोखिम हुने गरी वायु प्रदुषण भएको भनेर चिकित्सकहरुले चेतावनी नै दिएका थिए । तर अपरान्हको वर्षापछि उपत्यकाको जनजीवनमा केही राहत महसुश गरिएको छ ।

करिब एकसातादेखि काठमाडौं विश्वकै सबैभन्दा दूषित शहरमा गनिँदै आएको थियो । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा पनि हल्का वर्षा भएको जनाएको छ ।

Scroll to Top