नागढुंगा-नौबिसे सुरुङमार्ग खन्दा कमजोर संरचना भेटियो, ‘ब्रेक थ्रु’ गर्ने समय डेढ महिना पछि धकेलियो

काठमाडौं। नागढुंगा( नौबिसे सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने समय डेढ महिना पर धकेलिएको छ। नागढुंगा( नौबिसे सुरुङमार्ग निर्माण आयोजनाले मुख्य सुरुङको ‘ब्रेक थ्रु’ यही महिनाको अन्तिममा गर्ने योजना बनाएको थियो। तर प्राविधिक कारणले डेढ महिना पर धकेलिएको आयोजन प्रमुख नवीनमान श्रेष्ठले बताए।

‘हाम्रो यही महिनाको अन्तिममा मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गर्ने योजना बनाएका थियौं। तर सुरुङमार्गको पूर्वतर्फको भागमा केही कमजोर संरचना आएर माटोहरु झरेकाले समस्या भएको छ। जसलाई प्राविधिक रुपमा कोल्याप्स भएको भन्छौं। अहिले पूर्वतर्फको खण्डमा ‘विक जोन’ आएको हो,’ उनले भने, ‘अब यसलाई पन्छाउन र यसको ट्रिटमेन्ट गर्न १५ देखि २० दिनको समय लाग्छ।’

श्रेष्ठका अनुसार दुबैतर्फबाट सुरुङ खन्ने काम भइरहेको थियो। ‘तर यसले पूर्वतर्फको सुरुङ खन्ने काम केही दिनदेखि बन्द जस्तै छ। यसले हामीले बनाएको योजना र निरन्तर रुपमा खन्ने काममा केही बाधा आएको छ,’ उनले भने, ‘अब ब्रेक थ्रु गर्ने काम माघको अन्तिमतिर मात्र हुन्छ।’

उनका अनुसार कमजोर संरचनालाई बलियो बनाउने काम भइरहेको छ। श्रेष्ठका अनुसार पश्चिम र बीचबाट भने सुरुङको काम निरन्तर भइरहेको छ।

सुरुङ खन्ने क्रममा यस्तो समस्या आइरहने श्रेष्ठले बताए। ‘सुनकोशी मरिन डाइभर्सनमा निर्माण भइरहेको सुरुङमार्गमा पनि यस्तै भएर धेरै दिन काम ठप्प भएको छ,’ उनले भने, ‘यसलाई पन्छाएर काम सुरु गर्न कति समय लाग्छ भन्ने महत्वपूर्ण हो।’

श्रेष्ठका अनुसार आयोजनामा अहिले पनि ५०० कामदारहरु दुई सिफ्टमा काम गरिरहेका छन्। ‘अहिले यो साइटबाट मात्र ३ मिटर खन्ने काम भइरहेको थियो। तर यसरी माटो कोल्याप्स भएका कारण त्यो काम ठप्प भएको छ। यही हिसाबले पनि अब त्यसलाई ट्रिटमेन्ट गर्न २० दिन लाग्यो भने पनि ६० मिटर सुरुङ खन्ने काम पछि धकेलिन्छ,’ उनले भने।

आयोजनाको मुख्य सुरुङ खन्ने काम सोमबारसम्मको तथ्यांक हेर्दा १५७।६० मिटर बाँकी छ। अब ५।९ प्रतिशत मात्र मुख्य सुरुङ खन्ने काम बाँकी छ।

Scroll to Top