नागढुङ्गा सुरुङ्गमार्ग ब्रेक थ्रु”अझै अन्योलमा

काठमाडौं । स्थानीयको अवरोधका कारण सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग अन्तर्गतको मुख्य टनेलको ‘ब्रेक थ्रु’ अन्योलमा परेको छ ।

फागुन ६ गतेदेखि रोकिएको काम आज चैत २ गतेसम्म पनि सुचारु हुन सकेको छैन । स्थानीयले निःशुल्क खानेपानी र सिंचाइको सुविधा दिनुपर्ने माग राखी यही फागुन ६ गतेदेखि सुरुङ्गमार्ग खन्न अवरोध गरिरहेका छन् ।

यसैगरी, सुरुङ्गमार्ग प्रवेश गर्दा सवारीसाधनले तिनुपर्ने शुल्क (टोल ट्याक्स)बाट स्थानीयलाई पनि रोयल्टी दिनुपर्ने माग राखिएको छ ।

त्यस्तै, टनेलमाथिको जग्गाको मुआब्जा पाउनुपर्ने, प्रभावित क्षेत्र घोषणा गर्नुपर्नेलगायत मागसहित स्थानीयले ६ फागुनदेखि आयोजनाको निर्माणस्थलमा काम गर्न दिएका छैनन् । यसले नेपालकै पहिलो सुरुङ्गमार्गको “ब्रेक थ्रु” अन्योलमा परेको हो । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब १४ मिटर खण्ड मात्रै खन्न बाँकी छ, जुन पाँच दिनमा खन्न सकिन्छ । स्थानीयसँग ठोस सहमति नभएका कारण अझै काम सुरु हुन सकेको छैन ।

साथै, कहिलेदेखि काम सुरु हुन्छ भन्नेमा पनि अन्योल भएको आयोजनाका एक इन्जिनियरले जानकारी दिए । यस्तै, चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का अध्यक्ष भाइकृष्ण तामाङले स्थानीयको माग जायज भएको दाबी गरे । तर, त्यो सम्बोधन गर्न सरकार तयार नदेखिँदा स्थानीयहरू काममा अवरोध गर्न बाध्य भएको उनले बताए ।

‘सुरुङ्गमार्ग बनाउन थालेपछि पानीको स्रोत सुक्दै गएको र ब्लास्टिङले घरहरू चर्किन थालेका छन् । भविष्यमा के–कस्तो समस्या आउने हो, निश्चित छैन,’ उनले भने । ‘यी यस्ता विषयलाई उचित सम्बोधन गर्न पटक–पटक औपचारिक रूपमा पत्र पठाएका थियौँ । उहाँहरूले माग सम्बोधन गर्ने वाचा पनि गर्नुभएको थियो । तर, त्यसअनुसार काम नभएपछि यस्तो कदम उठाउन जनता बाध्य भएका हुन् ।’

त्यस्तै , सिस्नेखोला – नागढुङ्गा सुरुङ्गमार्ग प्रभावित खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोपी सुर्खेतीले विवाद सम्बन्धी पछिल्लो जानकारी दिएका छन् । उनका अनुसार हिजै मात्र सरोकार समिति र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सो विषयमा मन्त्री रघुविर महासेठसँग छलफल भएको तर , कुनै निष्कर्ष ननिस्किएको बताए । यो नेपालकै पहिलो आधुनिक सुरुङ्गमार्ग हो ।

जाइकाको १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋणसहित कुल २२ अर्ब १४ करोडमा यो परियोजना बन्दै छ । यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल भने २२ श्रावणमा ‘ब्रेक थ्रु’ भइसकेको छ ।

सुरुङमार्ग बनाउन सडक विभाग र जापनिज कम्पनी हाजमा एन्डो कर्पोरेसनबीच सेप्टेम्बर ०१९ मा ठेक्का सम्झौता भएको थियो । २०१९ अक्टोबर २१ मा यस आयोजनाको शिलान्यास गरिएको थियो भने नोभेम्बर २०२० देखि आयोजनाको निर्माण कार्य सुरु भएको थियो ।

Scroll to Top