नागढुङ्‍गा सुरूङ अब २०० मिटर मात्र खन्न बाँकी

काठमाडौं : नागढुङ्‍गा सुरूङ अब २०० मिटर मात्र खन्न बाँकीछ । आयोजनाले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार यो सुरुङको ‘ब्रेक थ्रु’का लागि अब २००।६० मिटर मात्र खन्न बाँकी रहेको छ । यहाँ कुल २ हजार ६८८ मिटर लामो सुरुङ मार्ग बन्दैछ । जसमध्ये २ हजार ४८७ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

आयोजनाका निर्देशक नवीनमान श्रेष्ठका अनुसार यस आयोजनाको रेस्क्यू टनेलको भने ‘ब्रेक थ्रु’ भइसकेको छ । यहाँ २ हजार ५५७ मिटर लामो रेस्क्यू टनेल रहेको छ । जसको ७ अगष्ट २०२३ का दिन ‘ब्रेक थ्रु’ भएको हो । टनेलको कुल भौतिक प्रगति ९६।४० प्रतिशत पुगेको छ । अब ३।६० प्रतिशत मात्र भौतिक प्रगति बाँकी रहेको आयोजनाले जनाएको छ ।

टनेलसहित सबै संरचनाको भौतिक प्रगति भने ६५।३६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । यहाँ टनेलसँगै अन्डरपास, बक्स कल्भर्ट, ओभरपास, पुल र फ्लाइओभरको काम जारी छ ।

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको हो । सन् २०१६ मा स्रोत सुनिश्चित भएपछि सन् २०२७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बीपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

नागढुङ्‍गा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । कर बाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो । यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २।८७ किलोमिटर पहुँचमार्ग समेत बनिरहेको छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै २ वटा फ्लाइओभर समेत सँगै बनिरहेका छन् ।

गुर्जुधाराको फ्लाइओभर ६१० मिटर लामो हुँदैछ । सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्ब भन्दा माथिको हो । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको हो ।

Scroll to Top