नारायणगढ मुग्लिन सडक ७ पुसदेखि दैनिक ४ घण्टा बन्द हुने

हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने

नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो ।

त्यसका लागि भारतीय दूतावासमार्फत भारतबाट विष्फोटक पदार्थ ल्याउने तयारीसमेत गरिएको थियो । तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि प्राविधिकहरुको सल्लाहअनुसार फरक प्रविधिको प्रयोग गरेर चट्टान काट्न लागिएको आयोजनाले जनाएको छ ।

सूचना अधिकारी आचार्यका अनुसार रक स्प्लीटर, हाइडो«लिक ज्याक हेम्बरको सहयोगमा चट्टान फुटाउन प्रयास गरिनेछ ।

यस्तै, यसपटक ३८ टनको ब्रेकर पनि प्रयोग गरिने उनले जानकारी दिए । यसअघि २२ टनको ब्रेकर प्रयोग गरिएको थियो ।

Scroll to Top