निजी जग्गामा लगाइएको रुख कटानको प्रतिबन्ध खुला

काठमाडौं ।
निजी जग्गामा लगाइएको रुख कटानको प्रतिबन्ध खुला भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार विसं २०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर विसं २०८० मङ्सिर ७ मा जनाएसँगै रुख कटानको अवरोध हटेको हो ।

यससँगै निजी वन दर्ताको क्रम सुरु भएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिए । उनको अनुसार यसअघि वन कार्यालयले गर्ने निजी वनको दर्ता अब पालिकाबाटै सुरु भएको छ । “निजी जग्गामा हुर्किएका सालको रुख काट्नको लागि वन दर्ता गरेर व्यक्तिगत र व्यावसायिक प्रयोजनको लागि उपभोग गर्न पाइने गरेर कानुनी बाटो खुला भएको छ ।” डिभिजनल वन अधिकृत पोखरेलले भने, “दर्ता भएका निजी वनको सालका रुख तोकिएको कानुनी प्रक्रिया पूरा गरेर देशभर बिक्री गर्न पाइन्छ ।”

डिभिजन वन कार्यालयको सिफारिसमा आवश्यक लगत खडा गरेर पालिकाबाट दर्ता प्रमात्रपत्र पाइने व्यवस्थाअनुरुप जिल्लाको अन्य पालिकाले पनि निजी वनको दर्ताको लागि आवश्यक कानुनी प्रक्रिया खुला गरेर तयारी अघि बढाएको डिभिजनल वन अधिकृत पोखरेलले जानकारी दिए । उनको अनुसार रुख कटानको लागि स्थान र उद्देश्यअनुसार पालिका वा वन कार्यालयको सिफारिसमा निजी जग्गाको सालको रुख काट्न पाइने भएको हो ।
बागमती प्रदेशभित्रको जिल्लामा सालको रुख काट्न ‘निजी वनको सालको रुख उपयोगसम्बन्धी कार्यविधि–२०८०’ मा निर्धारण गरिएको छ । उक्त कार्यविधि प्रदेशको वन तथा वातावरण मन्त्रालयले हाल राय तथा सुझाबको लागी मातहतका निकायमा पठाएकाले छिट्टै लागू गर्ने जनाएको छ ।

Scroll to Top