नेपाली ढुकुटीमा थुप्रियो १९ खर्ब ११ अर्ब

काठमाडौँ । गत चैतमा विदेशी मुद्रा सञ्चिति २४.२ प्रतिशतले बढेर १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको मासिक तथ्यांकले देखाएको छ ।

रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेको र आयात घटिरहेका कारण विदेशी मुद्रा सञ्चितिले हरेक महिना नयाँ रेकर्ड बनाउन सफल भएको हो । ०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

निरन्तर बढेको विदेशी विनिमय मुद्रा सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात गर्न सकिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जनाए ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा गत चैत मसान्तमा २२.७ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले वित्तीय संघीयता र सार्वजनिक वित्तीय व्यवस्थापनको कार्य सञ्चालनका लागि प्रदेश तथा स्थानीय तहको संस्थागत व्यवस्थालाई सुदृढ बनाउन र सेवा प्रवाहमा सुधार ल्याउन प्रदेश तथा स्थानीय सरकारले बजेटको विश्वसनीयता बढाउन गर्नुपर्ने कार्यहरूबारे समेत सुझाइएको छ ।

Scroll to Top