नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया जान कठिन बन्दै

काठमाडौँ । नेपाली विद्यार्थीहरुको रोजाइमा परेको अष्ट्रेलिया जान कठिन बन्दै गएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुको अत्यधिक चाप बढेपछि अष्ट्रेलियाले आप्रवासन रणनीति कार्यान्वयन गर्ने क्रममा विद्यार्थीले जम्मा गर्नुपर्ने रकम बढाएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाइएको हो ।

अष्ट्रेलिया जान चाहाने विद्यार्थीले १० मे देखि भिसा प्राप्त गर्न कम्तिमा २९ हजार ७१० अष्ट्रेलियन डलर बचत गरेको प्रमाण देखाउनुपर्ने भएको छ ।

बितेको सात महिनामा यो दोस्रो वृद्धि हो । गत अक्टोबरमा २१ हजार ४१ अष्ट्रेलियन डलरबाट बढाएर यसलाई २४ हजार ५०५ बनाइएको थियो ।

कोभिडको प्रतिबन्धपछि अत्यधिक बढेका विदेशी विद्यार्थीको भिसा अनुमति अनुपात घटाउन नयाँ आप्रवासन रणनीति अन्तर्गत अष्ट्रेलियाले अङ्ग्रेजीमा बढी स्कोरदेखि त्यहाँ बसाइ लम्ब्याउने सम्बन्धी यसअघिको व्यवस्थामा कडाई गरिसकेको छ ।

अष्ट्रेलियाकी गृह मामिला मन्त्री क्लेयर ओनिलले ३४ शिक्षा प्रदायकहरुलाई गलत तरिकाले विद्यार्थी भर्ना गरेको चेतावनीसहित पत्र पठाइसकेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

आर्थिक व्यवस्थामा कडाइसँगै अब अष्ट्रेलियामा परिवारका सदस्यका साथ विद्यार्थी भिसा प्राप्त गर्न आवश्यक ८४ लाख ५४३ अष्ट्रेलियन डलरलाई बढाएर अहिले १ लाख २ हजार पाँच सय बनाइएको हो ।

त्यसो त अस्ट्रेलियामा महँगी उच्च बढेको छ । महँगीले घरभाडा पनि बढेको छ । खानेकुरादेखि पेट्रोलियमसम्मको मूल्य बढेको छ । बढ्दो महँगीका कारण खर्च बढ्दा त्यहाँस्थित विद्यार्थीहरुलाई समस्या भइरहेको छ ।

Scroll to Top