काठमाडौं । न्यायको माग गर्दै धनुषाको एउटा परिवार काठमाडौंको माइतीघरमा धर्ना बसेको १४४ दिन बितेको छ । जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहका माइती पक्ष घाम, पान िसहेर धर्नामा बसिरहेको हो । दाइजोका नाममा आरतीको हत्या भएको दाबी गर्दै उनीहरू असार १ देखि धर्नामा बसेका छन् ।
उक्त आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष डा. केदार नरसिंह केसीले सुतेको मान्छेलाई उठाउन सजिलो हुन्छ तर सुतेको भान गर्ने मानिसलाई उठाउन गाह्रो हुने भन्दै अहिलेको सरकारले सुतेको भान गरिरहेको बताएका छन् ।
उनले सामाजिक न्यायका लागि सबै नेपाली एक स्थानमा आएर लड्नु पर्ने भन्दै छिटोभन्दा छिटो सरकार, सम्बन्धित निकायले यो घटनाको समाधान गर्नुपर्ने बताए ।
उनले भने, ‘सुतेको मान्छेलाई उठाउन सजिलो हुन्छ तर सुतेको भान गर्नेलाई उठाउन गाह्रो हुन्छ । सरकार सुतेको भान गरिरहेको छ । त्यसकारण हामी सबै जो जस्तो भएपनि विचारभन्दा माथि उठेर सामाजिक न्यायका लागि एकता कायम गर्नुपर्छ । हामी सबै नेपाली एक स्थानमा आएर नेपालीमाथि भएको अन्यायको विरुद्धमा लड्नु पर्छ ।’
यस्तै, उनले राज्यले न्याय दिनुपर्ने आफ्नो कर्तव्य पूरा नगरेको भन्दै पीडितहरु न्यायको लागि सडकमा उभिँदा पनि राज्य मुकदर्शक भएर बसिरहेको बताए ।
उनले भने, ‘जुन किसिमले जनकपुर निवासी आरती साहका परिवार न्याय पाउँ भनेर १४४ दिनसम्म सडकमा उभिएका छन् । वास्तवमा राज्य आफैंले अन्याय भएको स्थान खोजेर न्याय दिनुपर्ने हो तर पीडितहरु नै न्यायका लागि सडकमा उभिँदा पनि राज्य मुकदर्शक भएर बसिरहेको छ ।’