पत्रकार बर्मालाई सेजन डिजिटल आर्थिक पुरस्कार प्रदान

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्लिकमान्डुकर्मी राजेश बर्मालाई पुरस्कृत गरेको छ । शुक्रबार सेजन स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बर्मालाई सेजन डिजिटल मिडिया अवार्डले पुरस्कृत गरेको हो ।

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सम्मानपत्र र ५० हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरे । बर्माको गत भदौ १० गते क्लिकमान्डुमा प्रकाशित ‘बौद्धिक बिचौलिया मालामाल: परामर्श सेवामै अर्बौं घोटाला‘ शीर्षकको समाचारलाई पुरस्कृत गरिएको हो ।

यस्तै सेजनले प्रत्येक वर्ष प्रदान गर्ने सेजन अवार्डबाट यो वर्ष कान्तिपुरकर्मी मातृका दाहाल र देवेन्द्र भट्टराई पुरस्कृत भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा लेखिएको समाचारलाई १ लाख राशीको यो अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै भोला चालिसे लिवरल जर्नालिजम् अवार्ड हिमाल खबरका रमेश कुमार न्यौपानेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५१ हजार रुपैयाँको हो ।

सेजन छापामाध्यम अवार्ड नयाँ पत्रिकाकी मुना कुँवर र सेजन ब्रोडकाष्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेलले प्राप्त गरेका छन् । यो पुरस्कारको राशी ५० हजार रुपैयाँको हो ।

त्यस्तै एक लाख राशीको स्व.सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार कान्तिपुर दैनिकका यज्ञ बन्जाडेले पाएका छन् ।

Scroll to Top