- सुरेन्द्र देवकोटा
पाठशालाको रित्तो आँगनमा
कसले पकाइरहेछ परिवर्तनको परिकार?
कसले रंगाइरहेछ चेतनाको घर ?
खनेर खलियानको बाटो
कसले देखाइरहेछ प्रवास रहर ?
कसले चलाउँदैछ छुरा
नानीहरूका कलिला हत्केलामा
र चिर्दैछ तिनीहरूका भाग्यरेखा ?
कसले लगाउँदैछ
नानीहरूका आँखामा
डाक्टर र इन्जिनियरको गाजल ?
किन भरिँदैछ
तिनीहरूका मस्तिष्कमा
अनुशासन भन्ने निषेधको हिउँ ?
कसरी उम्रिरहेछ
नानीहरूको ओठओठबाट कृतिम संस्कृति ?
र बाध्य छन्
डलरको साँङ्लोमा
आफैंलाई दास बेच्न तिनका बाबुहरू ?
किन ढाकिरहेछ उनीहरूका गुलाबी आँखामा
मरुभूमिको बालुवाको धुलो ?
कसले सिकायो नानीहरूलाई
रातलाई दिन भन्न
र साँझलाई बिहान ?
दुईचार थान
जुनकिरी उडेकै हुन्
बाँसको लिङ्गोमा
बलेकै हो एकजोर आकाशे दियो
बादलको घुम्टोभित्र
ताराहरू चम्किएका पनि हुन्
उल्काहरू झरेका पनि हुन्
उज्यालै भएको चाहीँ होइन ।
उज्यालोमा त झ्यालढोकाबाट
ह्वारह्वार पस्नु पर्छ घाम
र हाम्रो भान्सासम्मै पुग्नुपर्छ उज्यालो
नानीहरूका मनमनमा लाग्नु पर्छ घाम
पाठशालामा किताब होइन
पढाइनु पर्छ उज्यालो ।
रहर छ मलाई
नानीहरूको प्वाँख
आफै उम्रदै गरेको हेर्न
तिनका हत्केलामा आफै कोरिदै गरेका
धर्साहरू पढ्न
उतारेर तिनका आँखामा गडेको त्रास
उडून स्वतन्त्र, शान्त
पुतली उडान ।
हजुरबुबाको दौराको फेर समातेर
सिकून नानीहरूले प्रातः भ्रमण
हजुरआमाका कथामा डुल्दै
आमाको लोरी निदाउँन् ।
नानीहरूले सिकून
आफ्ना आमाबाबुबाट
बिहानीको पहिलो गीत
र पाठशालाबाट शुरु होस्
उज्यालोको अभियान ।