पुण्योदय बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेको पुण्योदय बहुउद्देश्यीय सहकारी संस्थाको सातौं साधारण सभा सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रमा आलेमगर , बिन्दु श्रेष्ठ चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी , आर्थिक शाखा प्रमुख राजु बहादुर खड्का , वडा नं २ र ६ का वडाध्यक्षहरु भाईकृष्ण तामाङ , सन्जय सिग्देल लगायतको उपस्थिति थियो ।

लोक गायिका मन्जु पौडेलको गीति प्रस्तुति रहेको कार्यक्रममा प्रमुख अतिथि शालिकराम जम्मकट्टेलले सारा विश्व नै आर्थिक शंकटको चपेटामा परिरहेको सन्दर्भमा नेपालले पनि सो समस्या झेल्नुपरिरहेको र सहकारी संस्थाहरुले उत्पादनमा जोड दिनुपर्ने बताए ।

२०७४ को निर्वाचनमा आफू निर्वाचित भई बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री रहेको बेला सहकारी सम्बन्धी कानुन निर्माणमा भुमिका निर्वाह गरेको तर हालको अवस्थामा सहकारी क्षेत्रमा अनेक व्यथिती देखापरेको हुनाले कानुन परिमार्जन गर्नुपर्ने समेत बताए । त्यस्तै बागमती प्रदेश सभा सदस्य रमा आलेमगरले सहकारी संस्थाहरुभित्रका समस्याहरु जटिल बन्दै गएको र त्यस्ता समस्याहरुको निराकरण नितिगत कानुन संशोधन र निर्माणबाट मात्रै सम्भव हुनेहुँदा आफू यस विषयमा गम्भीर रहेको बताए । साथै , हरेक संघ संस्था र राजनीतिक क्षेत्रमा समेत महिला सहभागिता बढाउनुपर्ने र उनिहरुको नेतृत्व क्षमता अभिवृद्धि मुख्य रहेको बताए ।

मन्तव्यका क्रममा आलेमगरले चन्द्रागिरि नगरपालिकाको समग्र विकास आफ्नो प्राथमिकता रहेको र त्यस सम्बन्धमा आफुले सक्दो भुमिका खेलेको साथै यही नगरमा रहेको ऐतिहासिक त्रिभुवनपार्क स्थानिय स्तरबाट संचालन , व्यवस्थापन हुनेगरी बागमती प्रदेशले स्थानीयको भावना समेटेर उपर्युक्त कार्यविधि निर्माण गरि हस्तान्तरण गर्नुपर्नेमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई ध्यानाकर्षण गराए ।

शुभकामना मन्तव्यकै क्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले दिनहुँ सहकारी सम्बन्धी विषयमा बचतकर्ताहरुको गुनासो आउने गरेको र सो सम्बन्धमा आफुले सहजीकरण गर्दै आईरहेको र आवश्यकता अनुरुप थप कदम चाल्न समेत आफू तयार रहेको बताए । त्यस्तै पुण्योदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सानुकाजी खड्गीले एकाध सहकारी संस्थाहरुको बैमानीका कारण सम्पूर्ण सहकारी संस्थाहरु बदनाम हुनुपरेको र बचतकर्ता शेयरधनीहरुले संचालक समितिमा रहेका व्यक्तिहरुको प्रवृति पहिचान गरेर मात्रै बचत गर्नुपर्ने बताए ।

सहकारी कर्मीहरु दुर्गालाल श्रेष्ठ , मोतिरत्न अमात्य अन्य सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्तिथिमा सम्पन्न सो कार्यक्रममा संस्थाका उपाध्यक्ष दिनरमण जोशीले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सचिव देवकृष्ण महर्जनले कार्यक्रम संचालन गरेका थिए ।

Scroll to Top