प्रथम वनदेवी चन्द्रागिरि साँस्कृतिक व्यापार पर्यटन महोत्सव सम्पन्न

काठमाडौं । काठमाडौंको पश्चिम भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा जेठ १४ गतेदेखि सुरु गरिएको प्रथम वनदेवी चन्द्रागिरि साँस्कृतिक व्यापार पर्यटन महोत्सव आज सम्पन्न भएको छ ।

जेठ १४ देखि २७ गतेसम्मका लागि तोकिएको महोत्सव दर्शक श्रोताहरुको मागका कारण असार २ गतेसम्म सञ्चालन गरिएको थियो ।

“कला, धर्म र संस्कृतिको पहिचान, स्वच्छ हराभरा सुन्दर नगर चन्द्रागिरिको शान” भन्ने नाराका साथ सुरु भएको प्रथम वनदेवी चन्द्रागिरि सांस्कृति व्यापार महोत्सव २०८१ को समापन कार्यक्रम आज सम्पन्न भएको छ ।

महोत्सव अवधिभर दैनिक जीवनमा प्रयोगमा आउने स्थानिय उपभोग्य सामाग्रीहरु, खानाका परिकार, हस्तकला, चित्रकला, वास्तुकलाका सामग्री, कृषि औजारका सामग्रीको विक्रीको लागि स्टल राखिएको थियो भने महोत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई रोटे पिङ, कोलम्बस, रेल खेल लगायत मनोरञ्जनका विभिन्न
अवसर आयोजकले उपलब्ध गराएका थिए ।

पर्यटकीय नगरी सुन्दर चन्द्रागिरि नगरको चन्द्रागिरि डाँडाको फेदिमा आयोजना गरिएको सो महोत्सवको आज प्रदेश सरकार युवा तथा खेलकुद मन्त्री माननीय रमा आलेमगरको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

आयोजक संस्थाका सचिव बालाजी खातीका अनुसार महोत्सव उट्घाट्न रमा आलेमगरद्वारा गर्ने र समापन चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरिद्वारा सम्पन्न गर्ने आयोजकको योजना राजनीतिक पुर्वाग्रहका कारण अन्तमा सफल हुन नसकेको बताए !

महोत्सव समापन कार्यक्रममा नगरप्रमुख घनश्याम गिरि प्रमुख अतिथि रहनेगरी आयोजकले प्रमाणपत्रमा मेयरको नाम र हस्ताक्षर समेत राखिसकेको अवस्थामा मन्त्री रमा आलेमगरलाई आयोजकले प्रमुख अतिथिकोरुपमा आइदिन आग्रह गर्नुपरेको कार्यक्रम संयोजक राजकुमार केसीले बताए !

अन्य पुर्वनिर्धारित कार्यक्रमहरु रद्द गरि हत्तपत्त वनदेवी महोत्सवको समापन कार्यक्रममा प्रमुख अतिथि हुन आएकी युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले यस्ता कार्यक्रमहरुले स्थानीय संस्कृतिलाई टेवा पुर्याउने , स्थानीय उत्पादनको बजारीकरणमा योगदान दिने र समग्रमा स्थानीय पर्यटन प्रवर्द्धनमा विशेष भुमिका खेल्ने भन्दै आयोजक संस्थालाई धन्यवाद दिएकी थिइन् !

Scroll to Top