प्रधानमन्त्रीले प्रमुख दलसँग छलफल गर्दै, आउला त निष्कर्ष ?

काठमाडौं । संघीय संसद्को जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आज (सोमबार) पनि संघीय संसद्मा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयमा बैठक आह्वान गरेका हुन् ।
आइतबार पनि प्रमुख दलहरूसँग छलफल गरेका प्रधानमन्त्रीले बैठक सकारात्मक भएको जनाउँदै सोमबार सहमतिमा पुगने जनाएका थिए । बैठकमा सहभागी नेताहरूले पनि छलफल सकारात्मक भएको जनाएका थिए । सोमबार पुनः बस्ने बैठकमा संसद सुचारु गर्नेमा सहमतिमा पुग्न सकिने धारणा राखेका थिए । 
बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि  लामिछानेका अनुसार सुन तस्करी सम्बन्धमा अहिले भइरहेको अनुसन्धान प्रभावित नहुने सकारात्मकता देखिएको बताएका छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सञ्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्न प्रयास हुने बताएका छन् ।
सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि संघीय संसदका दुबै सदनको बैठक अवरुद्ध गर्दै आएका छन् । 
संघीय संसद सुचारु नभएपछि राष्ट्रपति रामचन्द्र पौडेलले समेत चिन्ता व्यक्त गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको बैठक मंगलबार बिहान साढे आठ बजे शीतलनिवासमा बोलाएका छन् । 

Scroll to Top