प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रधानमन्त्री ली छयाङको उपस्थितिमा नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेइजिङमा कुटनीतिक भेटघाट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले उनका चिनियाँ समकक्षी ली छ्याङसँग सोमबार बिहान चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।
द्धिपक्षी भेटघाटपछि नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् ।
यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन् । चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएका छन् ।
यसअघि प्रधानमन्त्री प्रचण्डको सम्मानमा चिनियाँ सेनाको गार्ड अफ अनर दिएको छ ।
भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव लगायत मन्त्रीहरु पनि सहभागी छन् । उक्त छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीहरुबीच हस्ताक्षर गर्ने कार्यक्रम छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले सलामीसहित गार्ड अफ अनर प्रदान गरेको थियो । गार्ड अफ अनरपछि द्विपक्षीय भेटवार्ता जारी छ ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका थिए ।
समकक्षी ली छ्याङसँगको भेटअघि प्रधानमन्त्री प्रचण्ड र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता भएको थियो ।
चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूचीसमेत छ ।
त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री प्रचण्ड यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।
चिनियाँ प्रधानमन्त्रीले भने स् नेपाल र चीन भिन्न आकारका समान मित्र
चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपाल र चीन फरक आकारका तर समान हैसियतका दुई छिमेकी मुलुक भएको बताएका छन् ।
सोमबार बिहान चीनको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री दाहालसँग भएको दुईपक्षीय भेटघाटमा चिनियाँ प्रधानमन्त्री छ्याङले यस्तो बताएका हुन् ।
‘नेपाल र चीन बीचको सम्बन्धको साक्षी हिमालय र खासगरी सगरमाथा छ, इतिहासदेखि हाम्रो सम्बन्ध राम्रो रही आएको छ,’ प्रधानमन्त्री छ्याङले भने ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उनले बताए ।
दुई देशका नेताबीच उच्चस्तरमा भएको सहमति कार्यान्वयन गर्न चीन तयार रहेको उनले बताए। नेपालको आर्थिक विकासमा चीनले साझेदारी गर्ने उनको भनाइ छ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले चीनले विकासको पहिलो शताब्दी लक्ष्य सम्पन्न गरेकोमा बधाई दिंदै आगामी शताब्दी लक्ष्यको सफलताको कामना गरे ।चीनले विकास र प्रविधिको क्षेत्रमा हासिल गरेको उपलब्धिको उनले प्रशंसा गरे ।
नेपाल राजनीतिक उपलब्धि हाँसिल गरी अब सामाजिक तथा आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको उनले बताए । ‘हामीले हालै तीनवटै सरकारको चुनाव सम्पन्न गरेका छौं । अब आर्थिक विकासको काम गर्दै छौं । चीनसँगको सौहार्दपूर्ण सम्बन्धले त्यसमा सहयोग गर्ने छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

Scroll to Top