प्रभात माविमा पशु विज्ञान र बाली विज्ञानका कक्षाहरु सुरु हुँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ७ मा रहेको प्रभात माध्यमिक विद्यालयमा कक्षा ११ अन्तर्गत बाली विज्ञान र पशु विज्ञानका कक्षा सुरु हुने भएको छ ।

सीटीभीटीबाट सम्बन्धन प्राप्त गरि उक्त विद्यालयले यहि शैक्षिक सत्रदेखि कृषि तथा पशुपालन विषयमा अध्ययन सुरु गर्ने भएको हो ।

कृषि तथा पशुपालन क्षेत्रमा दक्ष जनशक्ति उतपादन गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ यी दुई विषय समावेश गरिएको प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द रुपाखेतीले बताए ।

नेपालमा कुल जनसंख्या मध्ये ६६ प्रतिशत कृषि पेशामा निर्भर भएपनि दक्ष जनशक्ति र आधुनिक प्रविधिको पहुँचको अभावमा कृषिमा आशा गरिए अनुरुपको प्रतिफल प्राप्त हुन नसकिरहेको अवस्थामा यस्ता व्यावसायिक शिक्षण प्रणालीमार्फत पठनपाठन गराउन लागेको रुपाखेती बताए ।

पशु विज्ञान र बाली विज्ञान विषयको अध्ययन पश्चात विद्यार्थीले व्यावसायिकरुपमा गाईभैसी, भेडाबाख्रा, बंगुर, कुखुरा, माछापालनलगायतमा दक्षता हासिल गर्न सक्नेछन् । साथै एग्रोभेट, केनल क्लब, कोल्ड स्टोर, दुग्ध पदार्थ उत्पादन प्रशोधनलगायतका क्षेत्रमा कार्य गर्न सक्नेछन् ।

विविधतायुक्त अन्नबाली, फलफुल खेती, तरकारी उत्पादन, च्याउखेती, बाली संरक्षण, मौरीपालनको व्यावसायिक उत्पादन तथा खेती गर्न सकिने छ ।

यस्ता विषयको अध्ययनले कृषि तथा पशुपंक्षी व्यवस्थापन, औषधि उपचार र किटनाशक औषधिमा समेत दक्षता प्राप्त हुने भएकाले कुनै पनि व्यवसाय संचालन गर्न विद्यार्थीहरु सक्षम हुनेछन् ।

तीन वर्षे डिप्लोमाको प्लान साइन्स र तीन वर्षे डिप्लोमाको एनिमल साइन्स विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले एसएलसी वा एसईई पास प्रमाणपत्रसहित आवेदन दिन सक्नेछन् । त्यस्तै, प्लान साइन्स र एनिमल साइन्स पढ्न एसईईमा १।६ जिपिए ल्याएका विद्यार्थीले विशेष छुटका साथ यस विद्यालयमा पढ्न पाउने विद्यालयका प्रधानाध्यापक रुपाखेतीले बताए ।

पशु विज्ञान र बाली विज्ञान विषय लिएर पढ्न चाहने विद्यार्थीहरुले थानकोट, चेकपोस्टमा रहेको प्रभात माध्यमिक विद्यालयमा आई फर्म भर्न पनि अनुरोध गरिएको छ । फर्म भरेका विद्यार्थीहरुले साउन १९ गते इन्ट्रान्स दिनुपर्ने पनि प्रधानाध्यापक रुपाखेतीले बताए ।

यसको साथै प्रभात माध्यमिक विद्यालयमा होटल म्यानेजमेन्ट र कम्प्यूटर साइन्सको पनि पढाई हुने प्रधानाध्यापक रुपाखेती बताए ।

Scroll to Top