फागु पूर्णिमाको अवसरमा ऐतिहासिक भालेश्वरको विषेश पूजा सम्पन्न

काठमाडौं । प्राचीन समयदेखि भालेश्वरको पूजा गर्दै आएका स्थानीयहरूले यस बर्ष पनि फागु पूर्णिमाको अवसर पारेर भालेश्वरको विशेष पुजा सम्पन्न गरेका छन् । चन्द्रागिरि डाँडाको टुप्पामा रहेको प्राचीन शिलाहरूलाई भालेश्वरको रुपमा पूजा गर्ने चलन सदियौंदेखि चलिआएको हो ।

पछिल्लो समय चन्द्रागिरि हिल्सले केबलकार सञ्चालन गर्न थालेपछि भालेश्वरको नयाँ मन्दिर निर्माण गरी सोही मन्दिरलाई भालेश्वर भनि प्रचार गरिएको छ तर प्राचीन भालेश्वरको शिलाहरूलाई नयाँ मन्दिरको पूर्व पट्टी राखिएको छ । सोही शिलाहरूमा आज विशेष पूजा गरिएको स्थानीय संस्कृति संरक्षण र संवर्धनका लागि गठित भालेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष श्याम बलामीले जानकारी दिनुभयो ।

परापूर्वकालदेखि नै हालको चन्द्रागिरि नगरपालिका वडा नं. ३, ४, ६, ७ र ८, मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ९ र इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का स्थानीयवासिन्दाले हरेक वर्ष फागु पूर्णिमा (होली) का दिन भालेश्वर मन्दिरमा विशेष पूजाआजा गर्दै आएका छन् । प्राचीन संस्कृति र परम्पराको जर्गेना गरौं, ऐतिहासिक भालेश्वर मन्दिरको संरक्षण गरौं भन्ने नाराका साथ प्रत्येक वर्ष फागु पूर्णिमाको दिन चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिले भालेश्वर मन्दिरमा विशेष पूजाआजा गर्दै आएको छ ।

आज विहान ८ बजे चन्द्रागिरि ४ स्थित महालक्ष्मी चौरमा भेला भई विभिन्न बाजागाजा, झाँकी, स्थानीय भेषभुषासहित पूजाका लागि चन्द्रागिरि प्रस्थान गरिएको हो । सो अवसरमा बागमती प्रदेशका माननिय साँसद रमा आले, विन्दु श्रेष्ठ, यमुना देवी श्रेष्ठ, उप मेयर बसन्ती श्रेष्ठ, पूर्व प्रदेश सभासद् बेलीमाया घले, पूर्व मन्त्री कल्पना धमला लगायतको जनप्रतिनिधीहरूको पनि उपस्थिती थियो ।

परापूर्वकालमा पानी नपरेर खडेरी पर्दा यहाँका स्थानीयले पानी माग्न यो मन्दिरमा गई पूजाआजा गरेको र पूजा गरेपछि सोही पानी पर्ने गरेको बुढापाकाहरूको भनाइ छ । चन्द्रागिरि भालेश्वर मन्दिरमा पूजाआजा गर्नाले मनले चिताको पुग्ने जनविश्वास रहिआएको छ । यसैको निरन्तरता अहिलेको युवा पुस्ताले पनि हरेक वर्ष फागु पूर्णिमाको दिन यो मन्दिरमा गई पूजाआजा गर्ने गर्दछन् ।

भालेश्वरकै प्रसिद्धिका कारण यस चन्द्रागिरिमा केबलकार सञ्चालन हुन थालेकोमा प्राचीन शिलालाई ओझेलमा पार्न नहुने स्थानीयको गुनासो रहेको छ ।

केबलकारले फागु पूर्णिमाको दिन स्थानीयलाई दिनभर नै निशुल्क आउने जाने व्यवस्था गर्नुपर्ने स्थानीयको माग रहेको छ ।

हाम्रो संस्कृति नै हाम्रो पहिचान भएकोले स्थानीय संस्कृति संरक्षणमा दृढ सकल्प लिएर लाग्नुपर्ने भालेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष बलामी बताउनुहुन्छ ।

समितिले भालेश्वरका शिलाहरू अगाडी डमरू सहितको ठूलो त्रिशुल गत बर्ष स्थापना गरेको थियो ।

Scroll to Top