फिल्म ‘दिमाग खराब’ को ‘झम्के झमा झम’ बोलको गीत सार्वजनिक

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। 

सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘झम्के झमा झम’ बोलको गीत सार्वजनिक गरिएको हो। सुमित खड्का र नम्रता काफ्लेको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द, संगीत तथा संगीत संयोजन रहेको छ।

शेखर घर्ती मगरले कोरियोग्राफी गरेको गीतको भिडिओमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सुपुष्पा भट्ट, दयाहाङ राई, अर्पण थापालाई देख्न सकिन्छ। 

सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्ममा आकाश बरालको लेखन छ। फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंहलगायत कलाकारको अभिनय छ।

रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के वाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ। यो फिल्म तिहारको अवसर पारेर कार्तिक २४ गतेदेखि प्रदर्शन हुनेछ।

‘दिमाग खराब’ बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन्। फिल्ममा ‘लुट २’ पछि निश्चल बस्नेत निर्देशनबाट टाढा रहेका थिए। 

Scroll to Top