बलामीहरुले गरे २०८० साललाई विदा

काठमाडौं ।

संसारमा अनेक संसार छ । अनेक जाती र संस्कृतिहरु छन् ! ज्ञान / विज्ञानका अनेक आविष्कार र सोध – अनुसन्धानहरुले मानव सभ्यतालाई विविध आयामबाट गतिशील बनाउने काम गरिरहेको छ ।

तथापि , समय जुनसुकै गतिमा चलिरहे पनि , सूचना , संचार र प्रविधिले जतिसुकै फड्को मारे पनि परम्परागत साँस्कृतिक मूल्य र मान्यताहरु आफ्नै नियममा चलिरहेका छन् ! प्रकृति र संस्कृतिको सम्बन्ध र सन्तुलन अनिवार्यत: मानव जीवनको प्रस्तावना हो ।

संस्कृति , संस्कारको बाटो हुँदै विकास हुन्छ । संस्कार मानिसको संघर्ष , आवश्यकता र सामुहिक रहनसहनको विधि र विधानमा आधारित भएर अगाडि बढ्छ ! सह – अस्तित्व र सहकार्यको निरन्तरता नै संस्कृतिको जग हो ।

विश्वभर दुर्लभ , अनौठो र रहस्यमय संस्कृतिहरु प्रचलनमा रहेको पाइन्छ । मुलतः आदिवासी समुदायको परम्परा र जीवन व्यवहारहरुमा प्रकृतिको अनवरत आराधना र स्तुति गहिरोगरि व्यक्त भइरहेको हुन्छ ।

त्यस्तै एक अनौठो र दुर्लभ साँस्कृतिक सम्पदा संरक्षण सम्बर्द्धन गर्दै आइरहेको जाती हो – बलामी जाती ! देशका विभिन्न जिल्लाका नाका / सीमानामा बसोबास गर्दै आइरहेका बलामीहरुमध्ये चन्द्रागिरि नगरपालिका वडा नं ४ टेकानपुरमा रहेका बलामी जातिको आफ्नै विशिष्ट संस्कृति अस्तित्वमा रहेको पाइन्छ ! १२मा महिना १३ गुठी मनाउने जाती भनेर समेत परिचित बलामीहरुले पुस २९ गते आईतबार नास: गुरु ( नाट्यश्वरको ) पुजा गरि यो वर्षभरिको साँस्कृतिक गुठी , नाच र जात्राहरुलाई विश्राम दिएका छन् ।

बर्षारम्भमा नाच सुरु गर्न नाट्यश्वरको विशेष बलि पुजा गरि आफ्नो साँस्कृतिक परम्परा थालनी गर्ने र वर्षभरी संचालन हुने गुठी , नाच र जात्राहरुमा भए गरेका त्रुटि ,कमजोरी र अन्य अन्जान भुलहरुको लागि माफी माग्दै पुनः नास: गुरु ( नाट्यश्वर)मा बोका बलि चढाई , बिहान नारायणको दाफा भजन गरि क्षमा माग्ने ( क्षमा पुजा ) गर्ने प्रचलन रहिआएको “टेकानपुर संस्कृति संरक्षण ” समितिका अध्यक्ष मोहन बहादुर बलामीले जानकारी दिनुभयो ! टेकानपुरका बलामी समुदायले अब नयाँ वर्ष २०८१ सालसम्मका लागि आफ्नो सम्पूर्ण गूठी , नाच र जात्राहरुलाई विदा दिएका छन् !

Scroll to Top