काठमाडौं- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ।
प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याइएको छ भने पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ छ।
बजेट वक्तव्यमा स्वास्थ्य मन्त्रालय तर्फ ४ अर्ब ८ करोड विनियोजन गरेको उल्लेख छ।
यस्त छन् स्वास्थ्यका २५ विषय
- बागमती प्रदेश सरकारको “स्वस्थ नागरिक गुणस्तरीय जीवन को सोच अनुरुप संघ तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा सबै प्रकारका स्वास्थ्य सेवालाई विकास र विस्तार गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु । जनस्वास्थ्यका मापदण्ड सुनिश्चित गर्दै सबै नीतिमा स्वास्थ्य कार्यान्वयन गर्न विषयगत मन्त्रालयसँग सहकार्य र साझेदारी गरिनेछ ।
- सरोकारवाला क्षेत्र, निकाय र संघ / संस्थासँगको समन्वय र सहकार्यमा मानसिक स्वास्थ्य समस्या र आत्महत्याको दरलाई न्यूनीकरण गर्न प्रदेशका १३ वटै जिल्लामा मानसिक स्वास्थ्यको प्रवर्धन, आत्महत्याको न्यूनीकरण अभियान सञ्चालन गरिनेछ । यसका लागि रु. १ करोड ७३ लाख विनियोजन गरेको छु ।
- गर्भवती र प्रसूति अवस्थामा जोखिममा परेका महिलाको निःशुल्क हवाइ उद्धार सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रकम विनियोजन गरेको छु । प्रजनन् स्वास्थ्य अधिकारको सुनिश्चितताका लागि सुरक्षित मातृत्व, नवशिशु तथा बाल स्वास्थ्य, किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्य एवं ज्येष्ठ नागरिकको स्वास्थ्य सेवालाई विकास र विस्तार गर्दै लगिने व्यवस्था मिलाएको छु ।
- महिलाहरूमा हुन सक्ने स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छु । संघीय सरकारसँगको सहकार्यमा महिलाको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित उमेरका किशोरीहरूलाई निःशुल्क रुपमा HPV खोप लगाउने व्यवस्था गरेको छु ।
- क्यान्सर, मुटुरोग, मधुमेह, दीर्घ श्वासप्रश्वास रोग, अब्स्टेट्रिक फिष्टुला लगायतका नसर्ने रोगहरुको पहिचान, परीक्षण, निदान र उपचार गर्न मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिएको छु। प्रदेशभित्रका विपन्न नागरिकलाई क्यान्सर, हृदयघात र मस्तिष्कघात उपचार सहुलियत कार्यक्रमलाई विशिष्टीकृत अस्पतालमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छु । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको लागि रु. २१ करोड विनियोजन गरेको छु ।
- चितवनको माडी स्थित बघौडा अस्पताल, रामेछापको मन्थली, दोलखाको जिरी, सिन्धुपाल्चोकको मेलम्ची र सिन्धुलीको दुधौली अस्पताललाई कमशः प्रादेशिक अस्पतालमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको छु।
- नसर्ने रोगको रोकथामका लागि मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान अन्तर्गत सिकलसेल एनिमिया, हेमोफिलिया, थालासेमिया, अटिजम लगायतका आनुवंशिक तथा जन्मजात स्वास्थ्य समस्या र उमेर सापेक्ष विकाससँग सम्बन्धित रोगहरुको निःशुल्क परीक्षण गर्ने व्यवस्था शुरु गरेको छु ।
- वागमती प्रदेशका विभिन्न वडाहरुमा सेवा गरिरहनु भएका ९ हजार ४ सय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्ताको लागि रु. ४ करोड ६५ लाख विनियोजन गरेको छु।
- एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिएको छु । यस कार्यक्रमलाई स्थानीय तहको समन्वयमा क्रमशः समुदाय स्तरमा विस्तार गर्दै लगिनेछ । यसका लागि रु. ४९ करोड विनियोजन गरेको छु ।
- प्रदेश अन्तर्गतका अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको सेवा सुनिश्चितताका लागि दुर्गम क्षेत्र चिकित्सक प्रोत्साहन कार्यक्रम मार्फत आवश्यक रकम विनियोजन गरेको छु । स्वास्थ्यकर्मीहरुको प्राविधिक ज्ञान र सीप विकासको लागि रु. ४ करोड ३७ लाख विनियोजन गरेको छु ।
- प्रदेशका अस्पतालहरुमा आँखा, नाक, कान, घाँटी, छाला तथा यौन रोग, जलन (बर्न), मुख तथा दन्त सेवा, मानसिक स्वास्थ्य सेवा लगायतका विशेषज्ञ सेवा विकास र विस्तार गर्न बजेट व्यवस्था गरेको छु।
- प्रदेशमा बसोबास गर्ने अति सीमान्तकृत तथा लोपोन्मुख जाति, आश्रममा आश्रित व्यक्ति, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, गरिबदलित, सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते लगायतका लक्षित वर्गका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिने व्यवस्था मिलाएको छु । यस कार्यक्रमका लागि रु. ११ करोड ५७ लाख विनियोजन गरेको छु।
- प्रदेशमा विशेषज्ञ चिकित्सक लगायत प्राविधिक जनशक्ति उत्पादन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षदेखि स्नातकोत्तर तहको अध्ययन तथा अध्यापन सुरुवात गर्न बजेटको व्यवस्था गरेको छु । साथै हेटौडा अस्पताललाई विशेषज्ञ सेवा सहित ३ सय शैय्या अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
- प्रदेशमा स्थायी रुपमा बसोबास गर्ने ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप निःशुल्क रुपमा प्रदान गर्ने व्यवस्था शुरुवात गर्न बजेट व्यवस्था गरेको छु । बागमती प्रदेशका प्रादेशिक अस्पतालहरुमा ६५ वर्षभन्दा माथिका विपन्न जेष्ठ नागरिकहरुका लागि दन्त सेवा तथा दन्त सहायता सामग्रीहरुको निःशुल्क वितरणको व्यवस्था मिलाएको छु ।
- वागमती प्रदेशका प्रादेशिक अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अति आवश्यक स्वास्थ्य सामग्री र उपकरणको व्यवस्थापनका लागि रकम विनियोजन गरेको छु ।
- प्रदेश भित्रका लोपोन्मुख र सीमान्तकृत जातिहरुको सुरक्षित मातृत्व सेवा तथा खोप सेवामा पहुँच वृद्धिका लागि प्रोत्साहन स्वरुप रु. ५ हजार प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिएको छु ।
- प्रदेशका विपन्न नागरिकका लागि निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिन रु. १ करोड ६४ लाख विनियोजन गरेको छु ।
- डेंगु, स्क्रबटाइफस लगायतका जनस्वास्थ्य विपद् तथा महामारी व्यवस्थापनका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना सहित स्वास्थ्य संस्थाहरुको क्षमता अभिवृद्धि गर्न रकम विनियोजन गरेको छु ।
- प्रदेश सरकार मातहतका बज्रवराही चापागाँउ अस्पताल, मकवानपुर आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र ललितपुर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको भौतिक पूर्वाधार निर्माण तथा निरन्तरताका लागि रु. १६ करोड ६६ लाख विनियोजन गरेको छु।
- जीवनचक्रमा आधारित पोषण विशेष योजना तर्जुमा गरी स्थानीय तहसँगको सहकार्यमा पोषण उपचार तथा पुनर्स्थापना केन्द्र सुदृढीकरण र विस्तार गरिनेछ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मान्यतालाई प्रभावकारी बनाउन स्वस्थ भान्छाको अवधारणा अनुरुप भान्छा नै औषधालय हो, भान्छालाई विषमुक्त बनाऔं भन्ने अभियानका साथ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।
- योग, होमियोप्याथी, अकुपन्चर लगायतका वैकल्पिक चिकित्सा उपचार पद्धतिलाई प्रवर्धन गरिनेछ । चितवनस्थित आयुर्वेद औषधी उत्पादन केन्द्रबाट असल उत्पादन अभ्यास (Good Manufacturing Practices – GMP) मापदण्ड अनुसार आगामी वर्षदेखि आयुर्वेदिक औषधी उत्पादन सुरुवात गर्न रकम विनियोजन गरेको छु।
- प्रादेशिक अस्पतालहरूमा अनलाइन टिकट प्रणाली तथा इलेक्ट्रोनिक मेडिकल अभिलेख र प्रतिवेदन प्रणाली क्रमशः लागु गर्दै स्वास्थ्य सेवामा डिजिटाइजेसन र सूचना प्रविधिको प्रयोगका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
- आन्तरिक तथा बाह्य बसाइसराई, बढ्दो सहरीकरण र जनसाङ्ख्यिक परिवर्तनको प्रवृत्ति अध्ययन गरी जनसाङ्ख्यिक लाभ प्राप्त गर्न प्रदेश जनसङ्ख्या नीति तर्जुमा गरिनेछ ।
- स्थानीय तहमा स्वास्थ्य सेवा सञ्चालन तथा सुदृढीकरणका लागि सशर्त अनुदान मार्फत रु. ५६ करोड विनियोजन गरेको छु ।
- स्वास्थ्य मन्त्रालय तर्फ रु. ४ अर्ब ८ करोड विनियोजन गरेको छु ।