बुधबारबाट बागमती प्रदेशमा लाइसेन्स नवीकरणको शुल्क अनलाइनबाटै तिर्न सकिने

बुधबारबाट बागमती प्रदेशमा लाइसेन्स नवीकरणको शुल्क अनलाइनबाटै तिर्न सकिने भएको छ। यातायात व्यवस्था विभागले बुधबारबाट लागू हुने गरी यस्तो सेवा सञ्चालनमा ल्याएको छ। 

विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार हाल यो सेवा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट सुरू गरिएको छ। छिट्टै यो सेवा बागमती प्रदेशमा रहेको अन्य यातायात व्यवस्था कार्यालयबाट पनि सञ्चालनमा ल्याइनेछ। 

‘ग्राहक सेवालाई थप व्यवस्थित र सहज बनाउन नयाँ प्रणालीमा जान आवश्यक छ। आवश्यकता अनुसारनै प्रविधिको प्रयोगलाई बढावा दिएर यो सेवा पनि सञ्चालन गरेका हौं,’ उनले भने। 

यसभन्दा अघि यातायात कार्यालय कास्कीमा लाइसेन्स नवीकरणको शुल्क अनलाइनबाटै तिर्न सकिने सेवा सुरू भइसकेको हो। प्रवक्ता पनेरुका अनुसार भविष्यमा नेपालभरका यातायात कार्यालयबाट लाइसेन्सको लागि आवेदन बुझाउँदा र नवीकरण गर्दा अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा विस्तार गरिनेछ। विभागले यसलाई प्राथमिकतामा राख्दै आवश्यक निकायसँग समन्वय गरेर सेवा विस्तार गर्ने भएको छ। 

यो सेवा सञ्चालन भएसँगै सेवाग्राहीले लाइसेन्सको आवदेन दिँदा वा नवीकरण गर्दा लामो लाममा बस्नुनपर्ने भएको छ।

सेवाग्राही यातायात कार्यालयमा बायोमेट्रिक्स र मेडिकल रिपोर्टको लागि मात्रै पुग्दा हुन्छ। 

अहिले अनलाइनमार्फत् लाइसेन्स नवीकरण र नयाँ फारम भरिसकेपछि पनि सेवाग्राहीले शुल्क बुझाउन लामो समय लाम बस्नुपर्ने बाध्यता छ। अनलाइनबाटै तिर्न सकिनेभएसँगै यो समस्याको समाधान हुने विभाग बताउँछ। 

विभागले  भविष्यमा यातायात कार्यालयबाट हुने हरेक भुक्तानी अनलाइन प्रणालीमार्फत् गर्न सकिने व्यवस्था मिलाउने समेत जनाएको छ। 

Scroll to Top