ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली बन्दै प्रिन्स

काठमाडौं । विश्व वरीयताका जुनियरतर्फ विश्व नम्बर एकसमेत रहिसकेका प्रिन्स पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् ।

१९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी समेत बन्ने । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ)ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिकका लागि छनोट भएका हुन् ।

ब्याडमिन्टनमा यसपटक १ सय ६६ नियमित कोटाबाट पुरुष र महिला समान ८३-८३ खेलाडी रहँदा ३ युनिभार्सलिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटामार्फत खेलाडी प्रतिस्पर्धा गर्दैछन् । यस्तै, आयोजक कोटामा फ्रान्सका खेलाडी वरीयताबाट योग्य हुँदा त्यसमा अर्का योग्य खेलाडीले खेल्ने छन् ।

युनिभार्सलिटी स्थान ओलम्पिकमा कमजोर उपस्थिति जनाउने राष्ट्रका खेलाडीलाई ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अवसर दिन निर्धारण गरिएको कोटाका रूपमा रहने गरेको छ । विश्वभरबाट ब्याडमिन्टनमा ३ खेलाडी पाएको कोटामा प्रिन्स आफ्नो पुरानो प्रदर्शनको आधारमा छनोट भएका हुन्।

प्रिन्ससँगै ब्याडमिन्टनको यस कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ति र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले प्रतिस्पर्धाको अवसर पाएका छन् । अब ओलम्पिक कमिटीले उनको प्रकृयागत कागजात तयार गरेपछि उनी औपचारिक रुपमा पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् ।

पछिल्लो समय नेपाली ब्याडमिन्टनमा एकपछि अर्को उपाधि जित्दै आएका प्रिन्सले लामो समयदेखि आफ्नो ओलम्पिक सपना रहँदै आएको बताएका छन् ।

Scroll to Top