भूगोल पार्कमा भूकम्प स्मृति सभा सम्पन्न

काठमाडौं ।

१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पुर्‍याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जोडिएको छ ।
विगतका बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।
आजको कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले, स्वयमसेवालाई राष्ट्रिय प्रणालीमा आवद्ध गरेर विपदजन्य जोखिम व्यवस्थापन गर्ने योजना गरिएको बताए । ‘काठमाडौं महानगरपालिकाले विपद पूर्वतयारी, विपदका समयमा गरिने खोज तथा उद्धार, विपदपछिको पुननिर्माणमा गरेको काम अन्य पालिकाहरुका लागि पनि सिकाइ रहेको छ ।’ उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले भने, ‘जाजरकोट भूकम्पमा काठमाडौँ महानगरपालिकाले गरेको सहयोग उदाहरणीय छ ।’
उनले, काठमाडौँका सामुदायिक विद्यालय र सडक पुल निर्माणका लागि अन्तरसरकार समन्वयबाट काम गर्नुपर्ने बताए।
‘भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सिपको प्रयोग हुन सक्छ । हामीले ठूला भूकम्पको कम्पन थेगेका सम्पदा क्षेत्रका संरचनाको परम्परागत निर्माण प्रविधिको अध्ययन र प्रबर्धन गर्न सक्छौँ ।’
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन, ‘विद्यालय, अस्पतालजस्ता सामुदायिक क्रियाकलाप सञ्चालन हुने संरचनाहरुको सवलीकरण, खुला ठाउँको संरक्षण, विपद सिर्जित संकटबाट बच्न समुदाय स्तरीय संयन्त्रमा महानगरपालिकाले ध्यान दिएको छ ।’
त्यस क्रममा विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, विपदजन्य जोखिम कम भूगोल र सामाजिक परिवेशअनुसारको संयन्त्र निर्माणमा काम गरिरहेको बताए ।

Scroll to Top