भोलिदेखि क्रमशः मौसममा सुधार हुने

काठमाडौं । काठमाडौंमा आज बिहानै देखि हल्का वर्षा भएको छ । नेपालमा प्रिमनसुनको अवधि सुरु भएको छ । अघिल्लो वर्षको भन्दा यो वर्ष कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको छ । प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो ।
मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताउनुभयो । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिनुभयो । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उहाँको भनाइ छ ।
मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ ।

Scroll to Top