भोली चन्द्रागिरि भालेश्वर मन्दिरमा विशेष पुजा हुने

काठमाडौं । चन्द्रागिरि डाँडामा रहेको भालेश्वर मन्दिरमा फागु पूर्णिमाका दिन विशेष पूजाआजा हुने भएको छ ।
प्राचिन संस्कृति र परम्पराको जर्गेना गरौं, ऐतिहासिक भालेश्वर मन्दिरको संरक्षण गरौं भन्ने नाराका साथ प्रत्येक वर्ष फागु पूर्णिमाको दिन चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिले भालेश्वर मन्दिरमा विशेष पूजाआजा गर्दै आएको भालेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष श्याम बलामीले जानकारी दिए ।
परापूर्वकालदेखि नै हालको चन्द्रागिरि नगरपालिका वडा नं. ३, ४, ६, ७ र ८, मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ९ र इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का स्थानीयवासिन्दाले हरेक वर्ष फागु पूर्णिमा (होली) का दिन भालेश्वर मन्दिरमा विशेष पूजाआजा गर्दै आएका छन् ।

स्थानीयहरुको सहभागितामा गठन भएको समितिले संस्थागतरुपमा वर्षेनी फागु पूर्णिमाको दिन भालेश्वर मन्दिरमा पूजाआजा गर्दैआएको छ । सोही पूजालाई निरन्तरता दिँदै यसवर्ष पनि समितिले विशेष पूजाआजाको कार्यक्रम राखेको अध्यक्ष बलामीले जानकारी दिए । समितिले भोलि आइतबार अर्थात् फागु पूर्णिमाका दिन विहान ८ बजे चन्द्रागिरि ४ स्थित महालक्ष्मी चौरमा भेला भई पूजाका लागि चन्द्रागिरि प्रस्थान गर्ने पनि जनाएको छ ।
भालेश्वर मन्दिरमा पूजाआजाका लागि विभिन्न बाजागाजा, झाँकी, स्थानीय भेषभुषासहित जाने प्रचलन छ ।
परापूर्वकालमा पानी नपरेर खडेरी परेपछि यहाँका स्थानीयले पानी माग्न यो मन्दिरमा गई पूजाआजा गरेको र पूजा गरेपछि पानी परेको बुढापाकाहरुको भनाइ छ । यसैको निरन्तरता अहिलेको युवा पुस्ताले पनि हरेक वर्ष फागु पूर्णिमाको दिन यो मन्दिरमा गई पूजाआजा गर्ने गर्दछन् ।
चन्द्रागिरि भालेश्वर मन्दिरमा पूजाआजा गर्नाले मनले चिताको पुग्ने जनविश्वास रहिआएको छ ।

Scroll to Top