मणिचूड माहात्म्य (साँखु, बज्रयोगिनी हुँदै मणिचूड दह)

शनिवार विशेष /सुरेन्द्र देवकोटा

काठमाडौं उपत्यकाको पुर्व उत्तरमा रहेको, हिन्दु र बौद्व संस्कृतिको साझा महत्व बोकेको पर्वत हो मणिचूड पर्वत (बज्रयोगिनी डाँडा)। यही पर्वत बाट पौराणिक गाथा बोकेको मणिमती(मनोहरा) नदी उत्पत्ती भएको छ । हिन्दु र बौद्व परम्पराका विभिन्न कथाहरू भेटिने यस पर्वतमा शालिनदी, साँखु, मणिचूड, बज्रयोगिनी, इन्द्रायणी सलम्बुदेवी, विश्वम्भरा नारायणजस्ता सहस्र धार्मीक पीठहरू भेटिन्छन् । यस पर्वतको पाउमै पर्छ शंखपुर वा शंखरापुर । शंखरापुरबाट दुई किलो मिटर जती माथि उक्लिएपछि पुगिन्छ प्रसिद्द धार्मिक महत्व बोकेको बज्रयोगिनी मन्दिर । बज्रयोगिनी मन्दिर, घुमारिचोक, वनदेवी प्राथमिक विद्यालयको प्राङ्गण हुँदै करिब एक घण्टा उकालो चढेपछि मणिचुडेश्वर शिवलिङ्ग भएको स्थानमा पुग्न सकिन्छ । यहाँबाट अझै माथि डाँडाको चुली मै पुगेपछि प्राकृतिक मनोरम वातावरणमा चिटिक्कको एउटा दह छ  यही हो मणिचूड दह ।

शंखपुर (शंखरापुर)  

साँखु भनेर चिनिने शंखरापुरलाई उपत्यकाको सवैभन्दा प्राचिन वस्तीकै रुपमा लिइन्छ । साँखु नै स्कन्द पुराणको श्री स्वस्थानी व्रतकथामा वर्णित ‘लावण्य देश’ हो भन्ने मान्यता पनि छ । ६० दशमलव २१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको तीन हजार तीन सय वर्ष अगाडि बनेको शङ्ख आकारको यो शहर मौलिक पाँच ढोकाका कारणले पनि परिचित छ । साँखु प्राचिन कालमा तिब्बत जाने व्यापारिक मार्गमा पर्थ्यो । पहिले तिब्बतभन्दा मुनि कुनै सहर भेटिन्थ्यो भने त्यो साँखु थियो भनेर पनि चिनिन्छ। त्यसैले ‘साँ दयाँ क्वे’ अर्थात् तिब्बतमुनिको देश भन्दै साँखु भएको भन्ने किम्वदन्ती पनि भेटिन्छ ।

एक किम्वन्तीका अनुसार शंखपुरमा देवी बज्रयोगीनीले शंखदेवलाई राजा बनाएर दाहिने शंखको आकारमा साँखुको बस्ति निर्माण गर्न लगाएको मान्यता छ । भनिन्छ बज्रयोगिनीका ८ बहिनीहरू थिए । उनीहरुलाई चारै दिशा तर्फ राखियो । साँखुमा आज पनि आठको विशेष महत्व छ । यहाँ आठवटा टोल, आठवटा बाटो, आठवटा कुलो, आठवटा डबली, आठवटा विहार, अष्टभैरव र अष्टविनायक छन् । बज्रयोगिनीले यि सबै बन्दोबस्त गरेपछि देशको नाम शंखरापुर र राजाको नाम शंखदेव राखिएको मनिशैलमा लेखिएको छ । शंखदेव एक भाइ मात्र थिए । उनका एक मात्र छोरा मानदेव भिक्षु बने । उनी बज्रयोगिनीमै गएर लीन भएको विश्वास गरिन्छ । त्यसपछि राजगद्दी खाली भयो । अहिले पनि साँखुवासी प्रधान चुन्छन् । माधवनारायण भगवानलाई जसले बोक्छ, उही प्रधान चुनिन्छ । राजाको प्रतिनिधि भएर बस्छ । साँखुमा माधवनारायणको नाममा मेला चल्दै छ ।  माधवनारायणलाई पानीमा डुबाएपछि व्रत सुरु हुन्छ । एक महिनासम्म माधवनारायण शाली नदीमा बस्ने विश्वासका साथी त्यहीँ राख्ने परम्परा छ । 

बज्रयोगनी

प्रथम विपश्वी भगवान वुद्धको तपश्याबाट प्रसन्न भएर प्रस्तर रुपमा प्रकट भएकी माता पार्वती नै बज्रयोगिनी भएको विश्वास गरिन्छ । बज्रयोगिनीको मुर्ती प्रकट भएको बारे पनि रोचक किम्वदन्ती छ । पृथ्वीमा भर्खर भर्खर हिमयुग शुरुभएको बेला यहाँको दुई पहरा विचको ढुङ्गाको कापबाट पाँच रंगको ज्योति प्रकट भएको र सो ज्वालामूखी देवी बज्रयोगिनी देवी भएको विश्वास गरिन्छ। बज्रयोगिनीको स्थापना कलिगत सम्वत् १८०१ (आजभन्दा करीब ३३२३ बर्ष अगाडी) भएको विभिन्न धार्मीक ग्रन्थहरूमा बताइएको छ । हाल रहेको मन्दिर भने राजा प्रताप मल्लको पालामा बनेको हो । प्यागोडा शैलीको बज्रयोगिनी मन्दिर संगै बुद्ध भगावनको मन्दिर पनि छ ।

रातो वर्ण र त्रिनेत्र भएकी माता बज्रयोगिनीको दायाँ र बायाँ हातको माझी र बुढी औलामा बज्रयान यन्त्रमा अनुष्ठान मुद्रामा खड्ग र निरुपण धारण गरेकी छन् । बज्रयोगिनी मूर्तीको दायाँ सिंहीनी र बायाँ बघिनी देवीको मूर्ती रहेको छ । त्यसपछि दायाँ हेरूक र बायाँ अचल तान्त्रिक मूर्तीहरु पनि रहेका छन् । महालक्ष्मी स्वरुपा माता बज्रयोगिनीको दर्शन गर्नाले मनोकामना सिद्ध हुने विस्वास गरिन्छ । बज्रयोगिनीलाई तान्त्रिक देवीको रूपमा पनि आराधना गरिन्छ । नेवारको इष्ट देवता समेत मानिने बज्रयोगिनी देवीलाई उग्रताराको रुपमा पनि पूजा गर्ने गरिन्छ । 

तिब्बती सम्राट स्रङचङ गम्पो र भृकुटीको बिहे पनि साँखुको बज्रयोगिनी मन्दिरमा भएको बताइन्छ । छैटौँ शताब्दितिर भृकुटीसँग बिहे गरेपछि स्रङचङ गम्पोले दाइजोमा यहीँबाट बौद्धधर्म तिब्बत लिएर गएको बताइन्छ ।

बज्रयोगिनीको नित्य पूजा तान्त्रिक विधिबाट गरिन्छ । काठमाडौ उपत्यका दहको रुपमा हुँदा महामञ्जुश्रीलाई दहको पानी काटेर स्वयुभु स्थापना गर्ने प्रेरणा पनि बज्रयोगिनीबाट मिलेको विश्वास गरिन्छ । बज्रयोगिनीको अर्को नाम डाकिनी पनि हो । बौद्ध धर्ममा डाकिनीलाई आध्यात्मिक शक्ती र मूक्तीको देवी मानिन्छ । यस मन्दिरका पुजारीहरु बज्राचार्य नै रहने परम्परा छ ।

मणिचूड

बज्रयोगिनी मन्दिरबाट करिब चार किलो मिटर उत्तरमा पर्ने मणिचूड दह प्राकृतिक रुपमा जंगल भित्र शान्त ठाउँमा रहेको सुन्दर दह हो । यस दहको साँस्कृतिक महत्व बारे पनि विभिन्न कथाहरू पुराणहरू उल्लेख छन् । मणिचूडलाई पौराणिक कालमा मृगेन्द्र पर्वत भनेर चिनिन्थ्यो । दह रहेको स्थानमा बज्रयोगिनी देवी खेल्न आउने गरेको तथा उनी खेल्दाखेल्दै उनको कमण्डलु खसेकाले कमण्डलु आकारको दह उत्पत्ति भएको भन्ने विश्वास रहेको छ । देवासुर संग्रामको बेलामा विष्णु भगवानले बज्रयोगिनी देवीसँग विजय वाहिनी मन्त्र वरदान पाउन कुण्डमा स्नान गरेको मणिकुण्ड अति पवित्र स्थल मानिएको छ ।

त्यस्तै देव दानव मिलेर समुन्द्र मन्थन गर्दा निस्केको उल्णव कालकुट विष सेवन गरी शिवजीले विषको डाह शान्त पार्न सर्वप्रथम आफ्नो त्रिशुल पहाडमा धसेर तीनधारा जलप्रवाह गरी उक्त मणिकुण्डको निर्माण गरि त्यहाँ महादेव जलसमाधीमा बसेको प्रसंग पनि विभिन्न पुराणहरुमा वर्णन गरिएको छ । त्यसैले यस कुण्डलाई अति नै पवित्ररुपमा हिन्दू धर्मावलम्बीहरुले लिने गर्दछन् ।

नेमुनीका वचन अनुसार विरुपाक्षले फाल्गुण कृष्ण सप्तमीका दिन मणिचुडेश्वर शिवलिङ्गको व्रत बसी दीपदान गरी भजनकिर्तन गरेर रात्रिमा जाग्राम बसी अष्टमी व्रत पूर्ण गरेछन् । यसले मणिचुडेश्वर शिव लिङ्गको दर्शन पूजन गरी शिव चरित्र पाठ गर्ने र सुन्ने र सुनाउने भक्तहरुको कैलाश बास हुने कुरा चतुरषष्ठि ज्योतिर्लिङ्ग अन्तरगतै मणिचुडेश्वर शिवलिङ्ग वर्णन श्री स्कन्द पुराण हिमवतखण्ड नेपाल महात्म्य कै एकतिसौ अध्यायमा वर्णन गरिएको छ ।

अर्को एक किम्वदन्ती अनुसार गौतम बुद्ध एउटा पूर्व जन्ममा बोधिसत्व मणिचूड थिए र बोधिचर्या गर्ने क्रममा आफ्नो शिरमा रहेका मणि नै दान गरेका थिए । ‘मणिशैलचुडावदान’ मा वर्णित दानगाथा यही ठाउँ त्यहीसँग सम्बन्धित मानिन्छ । त्यसअनुसार वोधिसत्व पहिला साकेत देशको राजकुमार थिए र उनी गर्भमा छँदा नै रानीलाई धार्मिक कार्यमा अभिरुचि बढेको थियो । बोधिसत्व जन्मेकै बेला शिरमा सूर्यको रश्मी समान जाज्वल्यमान मणि थियो । उक्त मणिको लक्षण भनेको रोगीहरुलाई मणिको जल पिलाएमा रोग निको हुने, आँखा नदेख्नेलाई मणि छुआईदिएमा आँखा देख्ने, दुर्भिक्ष भएमा मणिजल छर्किदिएमा सुभिक्ष हुने थियो ।

बोधिसत्व युवावस्थामा पुगेपछि राजा बनाइए । दानधर्ममा अभिरुची राख्ने क्रममा जसले जे माग्यो त्यही दान दिन एक दिन विशाल दानशाला नै बनाए । यो दान कर्म स्वर्ग प्राप्तीका लागि नभएर सम्यकसम्बोधि लाभका निमित्त थियो । यसरी दान धर्म गरिरहँदा ईन्द्रको आसन तात्यो र राक्षसको भेषमा आएर मांसहारी भोजनको माग गरे । राजाले आफ्नो घाँटी रेट्न तरबार उठाएकै बेला पृथ्वी कम्पन भएको थियो ।

साधनाका लागि बोधिसत्व मणिचूड साकेत छाडेर अन्यत्र लागे । त्यसको केही समयपछि साकेतमा दुर्भिक्षको मार पर्‍यो । रोगव्याधीले पनि सतायो । यस्तो बेलामा बोधिसत्वको शिरमा रहेको मणि छुवाएको पानी छर्किदिँदा सुभिक्ष सुरु हुने निष्कर्षमा सबै भद्रभलादमी पुगे । बोधिसत्व मणिचूडको खोजी हुँदा वर्तमान साँखु माथिको डाँडामा साधना गरिहरको कुरा थाहा पाए । मणिका लागि मान्छेहरु खटाइए । साकेतको समस्या समाधानका लागि मणि दिन तयार भए, बोधिसत्व मणिचूड । आफ्नो शिर करौतीले रेट्न लगाए र मणि निकालेर दहमा पखाले । र, बोधिसत्वले आफ्नै हातले मणि दान गरेकै बेला पृथ्वी कम्पन भयो । मणि दान गरेपछि देवगण जम्मा भई विभिन्न प्रकारका फूलले पूजा गरे । यसरी मणिचूड राजाले दान पारमिता पूरा गरेको स्थान भएकोले यो ठाउँ बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थल बन्यो र ‘मणिचुड दह’ नाम रह्यो ।

कसरी पुग्ने

काठमाडौंको रत्नपार्कबाट करीब १८ किमीको यात्रामा साँखुपुग्न सकिन्छ । साँखुको प्राचिन शहर र यहाँरहेको स्वस्थानी देवीको मन्दिर अवलोकन पश्चात यहाँबाट दुई किमी उत्तर लागेपछि बज्रयोगिनी मन्दिर पुग्न सकिन्छ । बज्रयोगिनी सम्म पक्क सडक पुगेको छ । बज्रयोगीबाट घुमार चौर, वनदेवी माध्यमिक विद्यालय, नार्गाजुन शिवपुरी राष्ट्रिय निकुञ्जको शाखा कार्यालय, हुँदै खुल्ला चौरको नजिकै रहेको सुन्दर र शान्त करीब चार किलोमिटर उकालो हिडेपछि २१३० मिटर उचाईमा रहेको मणिचूड दह पुगि

Scroll to Top