मनकामनामा शब्द यात्रा

हरि सांस्कृतिक केन्द्रको आयोजना तथा मनकामना क्षेत्र विकास समितिको आतिथ्यमा गोरखाको मनकामनामा “शब्द यात्रा” सम्पन्न भएको छ । हरि सांस्कृतिक केन्द्रका अध्यक्ष प्रभा देवी देवकोटा (कैनी) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं, चितवन र गोरखाबाट सहभागी स्रष्टाहरूले साहित्यिक रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा कवि गोविन्दराज विनोदी, सिताराम अधिकारी, नारायणप्रसाद पोखरेल, विजयराज खनाल, इश्वरचन्द्र देवकोटा, प्रकाश चापागाई, नारायणप्रसाद खनाल, केदारनाथ खनाल, सुरेन्द्र देवकोटा, गिता रेग्मी, मुना धिताल (अर्याल), सुरेशकुमार भट्ट, उषा तिवारी, सुवास देवकोटा, शिशिर देवकोटा लगायतका स्रष्टाले साहित्यिक रचना वाचन गर्नुभएको थियो ।

मनकामना क्षेत्र विकास समितिका निर्देशक लेवेन्द्र गुरुङ्ले स्वागत मन्तव्य राख्दै मनकामनाबारे साहित्यकारहरूले कलम चलाउनु पर्ने बताउनु भयो । हरि सांस्कृतिक केन्द्रका संरक्षक इश्वरचन्द्र देवकोटाले मनकामना क्षेत्र विकास समितिलाई मनकामनाबारे साहित्यिक कार्यक्रम आयोजना गर्न सुझाउँदै मनकामनाबारेका रचनालाई आफ्नो केन्द्रले प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम सञ्चालन केन्द्रका निवर्तमान अध्यक्ष केदारनाथ खनालले गर्नुभएको थियो । स्रष्टाहरूले मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठलाई मनकामनाबारे लेखिएका पुस्तकहरू उपहार स्वरूप प्रदान गर्नुभयो ।

केन्द्रले भोलि गोरखा सदरमुकाममा भव्य कार्यक्रम आयोजना गरी हरि उत्कृष्ट प्रतिभा पुरस्कार लगायतका पुरस्कारहरू र कृति लोकार्पण गर्न लागेको हो । साहित्यकार राजेश्वर देवकोटाले आफूले प्राप्त गरेको मदन पुरस्कार र साझा पुरस्कारको रकम राखेर आफ्ना पिता पण्डित हरिभक्त देवकोटाको नाममा शुरु गर्नुभएको हरि सांस्कृतिक केन्द्रले हरेक बर्ष विभिन्न पुरस्कार तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ ।

Scroll to Top