“मलाई मन परेको कविता” शृङ्खला-३ सम्पन्न

काठमाडौं, लेखक,प्रकाशक तथा सम्पादकहरुको साहित्यिक संस्था एपेक नेपालको आयोजनामा “मलाई मन परेको कविता” शृङ्खला-३ भृकुटीमण्डप स्थित पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा नेपाली साहित्यका अग्रज पुस्ताका १५ जना कविहरुले आफूलाई मन परेको अनुज पुस्ताका १५ कविहरुको एक एक कविता उनिहरुकै उपस्थितीमा वाचन गरेका थिए । निक्कै हार्दिक एबम सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न सो कार्यक्रममा कविता वाचनको प्रारम्भ कविवर बैरागी काइँलाले कवि विवश पोखरेलको ‘बग्दै बग्दै जानू’ शीर्षकको कविता वाचन गरेर गरेका थिए ।

त्यसपछि क्रमश: कविहरु उषा शेरचनले बाबु त्रिपाठीको ‘गाउँमा’, कवि वसन्त चौधरीले दीप दर्पणको ‘धर्म’, कवि विधान आचार्यले सुदेश सत्यालको ‘फर्केर आऊ घर’, कवि मञ्जु काँचुलीले मोमिलाको ‘दुर्गम उचाई ’, कवि शैलेन्द्र साकारले मणिराज सिंहको ‘शून्यताले जब चिमोट्न थाल्छ’, कवि विश्वविमोहन श्रेष्ठले मौन आवाजको ‘आधा’, कवि अशेष मल्लले असीम सागरको ‘सडकको आवाज’, कवि राधेश्याम लेकालीले फूलमान बलको ‘बाटो’, कवि लक्ष्मी मालीले अनिता लामाको ‘आगोको फूल’, कवि राजेन्द्र शलभले प्रज्ज्वल अधिकारीको ‘पाठशाला’, कवि प्रह्लाद पोखरेलले प्रभा भट्टराई आचार्यको ‘खै म के भनुँ’, कवि किशोर पहाडीले मुरारि सिग्देलको ‘करुणामय काठमाडौं’, कवि स्नेह सायमीले प्रकाश गुरागाईंको ‘अदृश्य हात’ र कवि तुलसी दिवसले रावतको ‘मायालुसँग’ शीर्षकको कविता वाचन गरेर गरेका थिए ।

साहित्यकारत्रय श्री बैरागी काईंला,श्री वसन्त चौधरी र आयोजक एपेक नेपालका अध्यक्ष श्री विश्वविमोहन श्रेष्ठबाट संयुक्त रुपमा दीप प्रज्वलन गरी शुरू भएको कार्यक्रममा कार्यक्रमका संयोजक श्री राजेन्द्र शलभले स्वागत मन्तव्य राख्नु भएको थियो भने अध्यक्ष विश्वविमोहन श्रेष्ठले कविता शृङ्खलाको उद्देश्य माथि प्रकाश पार्नु हुँदै चौथो शृङ्खला अनुज पुस्ताको हुने जानकारी गराउनु भएको थियो । युवा कवि संगीता थापाले सञ्चालन गर्नु भएको त्यस कार्यक्रम अवधिभर सरोदवादक रूपा न्यौपाने र सीतारवादक शीतल दाहालको मधुर सङ्गीतद्वारा सङ्गीतमय भएको थियो।

Scroll to Top