महिला गणितज्ञको उन्नयनका लागि ओनिम्सले विशेष अभियान थाल्ने

रूपेश आचार्य
गणितज्ञ महिलाहरुको छाता संस्था ‘गणित विज्ञानमा नेपाली महिला’ (ओनिम्स) ले विद्यालयदेखि विश्वविद्यालय सम्मका विभिन्न तहमा गणित पढाइ रहेका महिलालाई अध्ययन, अनुसन्धान र प्राज्ञिक खोजतर्फ प्रेरित गर्न विशेष अभियान थाल्ने भएको छ ।
संस्थाको शनिबार सम्पन्न छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले यससम्बन्धी कार्ययोजना पारित गरेको थियो । कार्ययोजना अनुसार संस्थाले गणित विषय र गणित शिक्षाको आवश्यक प्रचार प्रसार गरी महिला विद्यार्थीलाई गणितको अध्ययन र अनुसन्धानतर्फ आकर्षित गर्न ‘स्टुडेन्ट स्टुडेन्ट स्टिम क्लब’ स्थापना गरी ज्ञानवर्धक र प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्नेछ । यसै गरी सार्वजनिक र निजी विद्यालयसँग गणितका पाठ्यक्रमको उपयोगिता, प्रश्नपत्र तथा गणितका अन्य शैक्षिक सामग्री निर्माण र यसको प्रयोग सम्बन्धी छलफल कार्यक्रमहरु सञ्चालन गर्ने योजना पनि सँस्थाको छ ।
यसका साथै अन्तर्राष्ट्रिय स्तरका गणित शोध र अनुसन्धानलाई तिव्रता दिँदै जाने र स्थानीय सरकारहरु सँग समेत सहकार्य गरी गणितीय अनुसन्धान अघि बढाउने योजना समेत अधिवेशनले पारित गरेको छ । साथै गणितमा महिलाको सशक्त सहभागिताका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका एक एक वटा गणित सम्मेलन गर्ने, गणित अध्ययनमा महिला छात्रवृत्तिका लागि पहल गर्ने योजना पनि अधिवेशनले पारित गरेको छ ।
महिलाहरु पुरुषको तुलनामा पछि रहेका क्षेत्र मध्ये एक मानिने गणितको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खोज अनुसन्धानका अवसर उपलब्ध गराउन यो कार्ययोजना निर्माण गरिएको जानकारी नवनिर्वाचित अध्यक्ष सहप्राध्यापक धनकुमारी थापाले दिनुभयो ।
अधिवेशनले आगामी तीन वर्षका लागि सहप्राध्यापक थापाको अध्यक्षतामा ११ सदस्सीय ओनिम्स कार्यसमिति समेत निर्वाचित गरेको छ । सर्वसम्मत निर्वाचित उक्त कार्यसमितिको उपाध्यक्षमा डा. कविता लुँईटेल सचिवमा सहप्राध्यापक तारा पौडेल सहसचिवमा डा गौरी भुजु र कोषाध्यक्षमा उपप्राध्यापक सरला लुँईटेल हुनुहुन्छ । यसै गरी सदस्यहरुमा रचना जोशी, राधादेवी श्रेष्ठ, डा. शर्मिला श्रेष्ठ र डा. रुमा मानन्धर सर्वसम्मत निर्वाचित हुनुभएको छ । सँस्थाको विधान अनुसार बाँकी दुई सदस्यहरु नवनिर्वाचित कार्यसमितिको प्रथम बैठकले गर्ने जानकारी पनि अध्यक्ष थापाले राससलाई दिनुभयो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पुर्व राजिष्ट्रार प्राध्यापक डा भद्रमान तुलाधरले ओनिम्स बुलेटिन पहिलो अंकको विमोचन गर्नुभएको थियो ।

Scroll to Top