मातातीर्थ औंसी, यस कारण आमाको मुख हेरिन्छ

सनातन धर्मले मातापितालगायत मान्यजनको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकालदेखि नै सिकाएको छ । तर सबै सन्ततिलाई दैनिकरुपमा मातापिताको सेवासुश्रूषा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औंसी तथा कुशे औंसीलाई लिइएको हो ।

मातृ दिवस वा आमा दिवस आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो मातातीर्थ औंसी !

यो दिवस विश्वका धेरै देशहरूमा अलग–अलग दिनमा आ–आफ्नो परम्परा अनुसार मनाउने गरिन्छ । नेपालमा यो दिवस मातातीर्थ औंसीको दिनमा मनाइन्छ ।

मातातीर्थ औंसीको दिन आमा जीवित नहुनेहरूले काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा रहेको विशेष धार्मिक महत्व बोकेको मातातीर्थ कुण्डमा गई आमाका नाममा विभिन्न पुण्यकर्म गर्ने गर्दछन् । उक्त स्थानमा गरिने पुण्यकर्मले आमाले ९ महिनासम्म गर्भमा राखेर जन्माई हुर्काएको मातृऋणबाट मुक्तिका साथै आमाको समेत मोक्षगति हुने विश्वास गरिन्छ ।

मातातीर्थ औंसीको दिन आमा जीवित नहुनेहरूले काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा रहेको विशेष धार्मिक महत्व बोकेको मातातीर्थ कुण्डमा गई आमाका नाममा विभिन्न पुण्यकर्म गर्ने गर्दछन् ।

स्वस्थानी व्रतकथा अनुसार यही तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । यस पवित्र भूमिमा गई आमाको नाममा गरिएका श्राद्ध लगायतका पुण्यकर्मको प्रभावले दिवंगत आमाको मुक्ति हुने र आमाको आशीर्वादले सन्तानको जीवन सुखमय रहने जनविश्वास रहिआएको छ ।


त्रेतायुगमा दशरथपुत्र मर्यादापुरुषोत्तम श्रीराम वनवास जाँदा लक्ष्मण र सीताका साथमा घुम्दै यस ठाउँमा आइपुग्नुभयो।

अपरिचित उहाँहरूलाई स्थानीय बासिन्दाहरूले नौलो र शंकास्पद देखेर आक्रमण गरे । त्यसपछि श्रीराम र स्थानीयहरूबीच ठूलो युद्ध नै भयो । दुवै पक्ष थकित र भोक–प्यासले आकुल भए । माता सीताजी पनि प्यासले आकुल हुनुभयो । वरिपरि पानीको खोजी भयो, कतै नभेटिएपछि भगवान् श्रीरामले गंगाजीको स्तुति गर्न थाल्नुभयो ।
‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले जमिनमा बाण प्रहार गर्नुभयो, पानीको कुण्ड बन्यो । पानी उघाउन जाँदा माता सीताजीले उक्त कुण्डमा सारा ब्रह्माण्डको दर्शन पाउनुभयो ।

कुण्डको जलमा वहाँको छाया पर्नासाथ भित्रको ढुंगामा वहाँको मूर्ति समेत कुँदिन पुग्यो । यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गर्नुभएको पवित्र कुण्डलाई मातातीर्थ भनिएको हो ।

त्यस्तै , प्राचीन कालमा घना जंगलमा गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी कुण्ड भएतिर जान थाल्यो । कुण्डमा गएर हेर्दा उसले त्यहाँ आमाको दर्शन पाएछ । घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लाने र आमाबिना एक्लै नफर्कने जिद्दी गर्न थाले । त्यसपछि आमाले छोरालाई मृत आमाहरू प्रत्येक वैशाख औंसीको दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै छोरालाई घर फर्काइन् ।

प्राचीन कालमा घना जंगलमा गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी कुण्ड भएतिर जान थाल्यो । कुण्डमा गएर हेर्दा उसले त्यहाँ आमाको दर्शन पाएछ ।

यसर्थ यस कुण्डमा आज दिवंगत आमाहरू आई सन्तानले दिएको पिण्ड–तर्पण प्राप्त गरी पूर्वयात्रामा फर्किन्छन् भन्ने विश्वासले यस पवित्रस्थललाई मातातीर्थ भनिएको हो ।

आमा हुनेहरूले मातातीर्थ (आमाको मुख हेर्ने ) दिनमा वहाँको सेवा गरी प्रसन्न तुल्याई आशीर्वाद ग्रहण गर्नुपर्दछ । आमाले पनि यस पवित्र पर्वका अवसरमा सन्ततिलाई आशीर्वाद दिएर हाँसीहाँसी सुखदुःखका कुरा सोध्ने र उनीहरूको भलाई र प्रगतिका लागि भगवानसँग प्रार्थना गर्नुपर्दछ ।

Scroll to Top