मुख्यमन्त्री जमकट्टेलले उद्घाटन गरे चौथो थाहा महोत्सव

१२ दिनसम्म व्यापार मेला लाग्ने

मकवानपुरको थाहानगरको इन्द्रायणी चौरमा चौथो थाहा महोत्सव शुरु भएको छ ।

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा १२ दिनसम्म सञ्चालन हुने कृषि पर्यटन व्यापार मेला–चौंथो थाहा महोत्सवको १४ मंसिरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका जमकट्टेलले प्रदेशका ८५ वटा स्थानीय तहलाई भौगोलिकताको आधारमा कृषि पकेट क्षेत्र बनाउन लागेको उल्लेख गरे।

उनले थाहा नगरपालिका लाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्ने बताउदै थाहामा कृषि बिश्वबिद्धालय स्थापना को आवश्यकता औल्याउँदै २० गते सम्म बागमती प्रदेश सरकार समक्ष प्रस्ताव लिएर आउन आग्रह गर्दै थाहामा कृषि बिश्वबिद्धालय बनाउने मंचबाटै उद्घोष गरे। उनले थाहा नगरपालिकाको समृद्धिको ढोका रहेको थानकोट चित्लाङ सडकमा राजनिती भएको बताउदै उक्त सडक प्रदेश मातहतमा आए बन्न सक्ने भन्दै संघीय सरकारले सो सडक नबनाउने नियत राखेको बताए।

अर्का अतिथी बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले मेला महोत्सवले आर्थिक गतिविधि एवं स्थानीय वस्तु, सेवा र कला संसकृतिको प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गरे। कार्यक्रममा मकवानपुरको क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद महेशकुमार बर्तौलाले आफूले रोष्टममै पुगेर मकवानपुरमा अति आवश्यक रहेको योजना बारे जानकारी गराउँदा पनि रकम नछुट्याएर सरकारले अन्याय गरेको उल्लेख गरे ।

थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश साँसद प्रेमबहादुर पुलामी छिन्तु, नेकपा एमालेका अच्युत्तमप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल, थाहानगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका विजय सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

महोत्सव उद्घाटनअघि थाहानगरको ओखरबजारबाट विशेष झाँकी र बाजागाजासहित विशाल शोभायात्रा गरिएको थियो । शोभायात्रामा परम्परागत साँस्कृतिक झाँकीहरुसहित थाहा खैजडी भजन, महिला पन्चेबाजा, महिला खैजडी भजन, तामाङ ढ्यांग्रो नाच, महिला समूहहरु, स्थानीय स्काउट लगायतको सहभागिता रहेको थियो ।

Scroll to Top